धरान : कोशी नामाकरण खारेजी, पुनः नामांङकन आन्दोलनको मागमा सहमत रहेका माओवादी र जनता समाजवादी पार्टी सहितका ४ दलिय सत्तारुढ समाजवादी मोर्चाले विराटनगरमा कोशी प्रदेश लक्ष्यीत अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव) समूह आवबद्ध समाजवादी मोर्चाले विराटनगरमा भदौ २५ गते ४ हजार अगुवा कार्यकर्ताको जमघट हुने बताइएको छ ।

मोर्चाले सातै प्रदेशमा आयोजना गर्ने सन्देश सभाको समापन विराटनगरमा गर्न लागेको हो । होटेल मनास्लुमा हुने सभामा चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएको जसपा प्रदेश अध्यक्ष दीपक याक्खाले बताए ।

भेलामा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सन्देश सभालाई सम्बोधन गर्नेछन् ।

कोशी प्रदेश कार्यक्रमको व्यवस्थापनमा व्यस्त अध्यक्ष दीपक याक्खाले भने ‘सन्देश सभाको तयारी अन्तिम चरणमा पुगेको छ, सभामा चारै जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।’ विराटनगरबाट समाजवादी मोर्चाले मूलकलाई समाजवादी मोर्चामा सबै शक्तिलाई आबद्ध हुन आह्वान गर्ने उनले बताए ।

सन्देश सभामा चार वटै दलका करिब ४ हजार अगुवा कार्यकर्ता प्रदेशभरिबाट सहभागी हुनेछन् । मोर्चाले चारवटै पार्टीलाई कोटा छुट्टाएर १-१ हजार अगुवा कार्यकर्ता ल्याउन सर्कुलर गरेको छ । भदौ २५ गते सोमबार सवा १२ बजे देखी सभा सुरु हुने बताइएको छ ।

उनीहरूले सबै जिल्लामा समाजवादी मोर्चाको जिल्ला बैठक बसेर सन्देश सभालाई सफल पार्न आवश्यक तयारी, प्रचारप्रसार र जनसहभागिता जुटाउन सहयोग गर्न पनि आग्रह गरेका छन् । सभामा सहभागी गराउनका लागि विराटनगर, मोरङ, सुनसरी र झापालाई बढी प्राथमिकता दिएका छन् ।