धरान : कृष्ण जन्माष्टमीको भोलिपल्ट आयोजना गरिने श्री कृष्ण रथयात्रा बिहीबार धरान बजार परिक्रमा गरी सम्पन्न भएको छ । धरानमा २०१४ सालमा गीता भवन मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमी र रथयात्राको परम्परा सुरु भएको हो ।

धरानमा कृष्ण रथयात्रामा धरान उपमहानगरपालिकाका प्रमुखको उपस्थिति रहँदै आएकोमा यसपालि भने मेयर, उपमेयर कोही पनि उपस्थित नभएको गीता मन्दिरले जनाएको छ ।

गीता मन्दिरका कार्यवाहक अध्यक्ष प्रा.डा.गोपालप्रसाद भण्डारीका अनुसार रथयात्रामा पूर्व मेयर तिलक राई भने सहभागी भए । वडा १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई, वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराई सहित राजनीतिक दलहरूका नेताहरू रथयात्रामा उपस्थित थिए ।

कावा अध्यक्ष भण्डारीले भने ‘रथयात्रामा धरान उपमहानगरपालिकालाई पत्राचार गरिएता धरान उपमहानगरपालिकाबाट प्रतिनिधित्व गर्दै उपस्थिति भएन, हामीलाई दुःख लागेको छ ।’ उनका अनुसार  २०१४ सालमा महामण्डलेश्वर १०८ स्वामी श्री ईश्वरानन्द महाराजले गीता मन्दिरको स्थापना गरे पछी धरानमा रथयात्राको सुरुवात भएको हो ।

सदाझैँ यसपालि पनि कृष्ण रथयात्रा गीता भवन देखि प्रारम्भ भएको थियो । छाता चोक, लक्ष्मी चोक देखि पृथ्वी चोक पुगेर पुरानो बजार हुँदै माछाभौडी-देशी लाइनबाट भानुचोक देखि पुनः गीता मन्दिरमा पुगेर रथयात्रा बिर्सजन गरिएको थियो ।

रथयात्रामा सुरक्षाकर्मी, स्काउट श्रद्धालु भक्तजनहरू सहभागी थिए ।

rath-yatra-dharan