विराटनगर : नेपाल जोलोजिकल सोसाइटी कोशी प्रदेश समितिद्वारा प्रदान गरिने प्राणी विज्ञान पुरस्कार विराटनगर स्नातकोत्तर क्याम्पसका पूर्व प्राध्यापक डा.भरतराज सुब्बालाई प्रदान गरेको छ ।

धरान स्थित केन्द्रीय प्रविधि क्याम्पसमा लामो समय प्राध्यापक रहेका सुब्बा पहाडी खोलाका माछाको श्वासप्रश्वास अङ्ग संरचनाको विषयमा विद्यावारिधि गरेका छन् ।

नेपाल जोलोजिकल सोसाइटी, प्रदेश समितिको दोस्रो अधिवेशन तथा सेमिनारको उद्घाटन समारोहमा आज शनिबार प्रदेश प्रमुख परशुराम खापुङले डा.सुब्बालाई सोमप्रसाद निरौला प्राणी विज्ञान पुरस्कार प्रदान गरेका हुन ।

सोही अवसरमा डा.गीत श्रेष्ठ र मञ्जु साहलाई सम्मानित गरिएको छ । प्राणी विज्ञान पुरस्कार कोषका संस्थापक सोमप्रसाद निरौलालाई अभिनन्दन गरिएको छ । उक्त अवसरमा प्रदेश प्रमुख खापुङले जोलोजिकल शिक्षा किन र केका लागि आवश्यकता भन्ने कुरालाई प्रष्टसँग सरकारसँग राखेर यस अध्ययनको दायरालाई फराकिलो बनाउनु पर्ने कुरामा जोड दिए ।

सेमिनार सेसनमा प्राणी शास्त्रका पिएचडी स्कलर गणेश तामाङले ‘बियोकमुलेशन एण्ड बियोकमुलेशन अफ जीन इन एशियन ओपनबिल’ विषयक कार्यपत्र प्रस्तुत गरे । प्राडा.रामबहादुर थापा, सुशिलकुमार झा, सोसाइटीका अध्यक्ष प्रा.डा.महेन्द्र महर्जनले जोलोजिकल सम्बन्धी विषयमा प्रकाश पारेका थिए ।

होटेल मनास्लु इनमा भएको अधिवेशनको सेमिनार शेसन सोसाइटीका प्रदेश अध्यक्ष शालिग्राम अधिकारीको सभापतित्वमा भएको थियो । विकास खनालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सचिव रामचन्द्र अधिकारीले सञ्चालन गरेका थिए ।

धरान स्थित केन्द्रीय प्रविधि क्याम्पसका प्राध्यापक रहेका पुरस्कृत प्रा.डा.भरतराज सुब्बाले टीएम भागलपुर विश्वविद्यालयबाट ‘नेपालमा पाइने पहाडी धाराको माछा ग्लाइपोथोराक्स टेलचिट्टा (ह्याम)को श्वास प्रश्वास अङ्गको संरचना र कार्य’ विषयमा विद्यावारिधि गरेका हुन ।

विराटनगर डिग्री क्याम्पसबाट अवकास प्राप्त गरे तापनि जोलोजिकल विषयमा विज्ञको अभावका कारण अहिले पनि प्राध्यापन गर्दै आएका छन् । उनको सम्पादनमा प्रकाशित हुने 'द नेचर'जर्नल स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीका लागि महत्त्वपूर्ण सन्दर्भ सामाग्रीका श्रोत बनेको सोसाइटीका प्रदेश सचिव रामचन्द्र अधिकारी बताउँछन् ।

उनको ९ पुस्तक प्रकाशित छन् । १३ पुस्तक प्रकाशोन्मुख रहेका छन् ।