धरान : बाहिरबाट धरान प्रवेश गर्ने मुख्य नाका तीनकुने सिरिजंगा चौकदेखी विश्वकर्मा मन्दिर सम्मको सडकको आकर्षक बनाउन बिचमा रङ्गिन फुलका बोटहरू रोपिएका छन् ।
नयाँ ६ लेनको सडकको बिच भागमा फुलेपछि आकर्षक देखिने फुलका बोटहरू रोपिएका हुन । यो कार्य सडक विभागले गरेको भने होइन ।
स्वर्गीय मातापिता र दिदीको स्मृतिमा धरान-३ की चन्दा राईले आफ्नो खर्चमा वृक्षारोपण गराएकी हुन् । तीनकुने देखी करिब १ किलोमिटर तल विश्वकर्मा मन्दिर सम्म २३२ वटा फुलका बिरुवा रोपिएका छन् ।
रोपिएका बगानबेली, सन्डे मन्डे फुलको बिरुवा हुर्किएर फुल्न थालेपछि धरान प्रवेश गर्ने आगन्तुकहरूलाई सडकको दृश्यले लोभ्याउने उनले बताइन् । वृक्षारोपण कार्यमा धरान वडा ३ का स्थानीयले श्रमदान गरेर सहयोग गरेका थिए ।
राईले दिवङ्गत पिता माता नरबहादुर राई, देवीमाया राई र दिदी पन्ना राईको स्मृतिमा फुलका बोटहरू रोपाएकी हुन् । वृक्षारोपण भदौ १८ सोमबार देखि शनिवार सकिएको थियो ।
सडकको बिचमा फुलका बोटहरू रोप्न सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन र धरान उपमहानगरपालिकाबाट अनुमति लिएको राईले बताइन । उनले भनिन् ‘बिरुवा रोप्ने मात्र होइन  बिरुवा हुर्काएर संरक्षण र हेरचाहको सम्पूर्ण जिम्मा लिएको छु ।’
वृक्षारोपणमा सहभागी धरान-३ वडा सदस्य मिङमा भोटे चन्दा राईले दिवङ्गतको नाममा फजुल खर्च गरेर मात्र दुःख साटासाट नहुने स्मृतिलाई सकारात्मक बनाउने उदाहरण देखाएकी बताए ।