दमक : वयोवृद्ध ज्येष्ठ नागरिक र अपाङ्गता भएको व्यक्तिलाई दमक नगरपालिकाले घर घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । नगरपालिकाले ९० वर्षको उमेर नाघेका ज्येष्ठ नागरिक एवं क वर्गको अपाङ्गता भएकाहरूलाई आइतबार देखी घरमै पुगेर गरिने स्वास्थ्य सेवा सुरु गरेको हो ।

दमक अस्पतालका विशेषज्ञ चिकित्सक नेतृत्वको टिमले उनीहरूको घर घरमै पुगेर सम्बन्धित उपचार सेवा प्रदान गर्ने दमक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण शाहले बताए । पहिलो दिन हिजो आइतबार दमक वडा १ फाल्गुननन्द चौककी १०१ वर्षीय पूर्णमाया लावती, जन्मजात शारीरिक अपाङ्गता भएका १३ वर्षीय प्रगिम घिमिरे लगायत ११ जनाको घरैमा उपचार भएको छ ।

नगरपालिका उपप्रमुख रेगिना भट्टराईले भनिन् ‘बिरामी हुँदा उपचार गराउन अस्पताल जान नसक्ने समुदायका लागी घरमै पुगेर स्वास्थ्योपचार गर्न यो सेवा सञ्चालन गरिएको हो ।’ उमेर भएका, शारीरिक रूपमा सक्षम अस्पतालमै पुग्ने भए पनि ९० वर्ष भन्दा माथिका र शारीरिक रूपमा अशक्त अस्पताल जान सक्तैनन् ।

उनीहरू उपचारबाट वञ्चित भई घरमै बस्नु पर्ने अवस्था हटाउन अभियान सञ्चालन गरिएको उनले बताइन् । उपप्रमुख भट्टराईका अनुसार नगरपालिका भित्रका ९० वर्ष माथिका सबै ज्येष्ठ नागरिक र क वर्गका अपाङ्गता भएका सबैको स्वास्थ्य परीक्षण निःशुल्क गरिने र कुनै समस्या देखिए औषधि समेत नगरपालिकाले निःशुल्क उपलब्ध गराउने छ ।

यसअघि नगरपालिकाले मापदण्ड पुगेका लाभग्राहीहरूको तथ्याङ्क सङ्कलन गरिसकेको उनले बताइन् ।  उपप्रमुख भट्टराईका अनुसार दमक नगरपालिका क्षेत्रमा घरमै स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने नागरिकको संंख्या ४०२ जना रहेका छन् ।