इटहरी : इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई अबदेखि दिवा खाजामा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनाएको छ ।

उपमहानगरपालिकाले अबदेखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जङ्क फुड नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेको हो ।

उपमहानगरपालिकाले हरेक दिन फरक–फरक खाजाको मेनुसहित बोलपत्र आह्वान समेत गरी सकेको छ । उपमहानगरपालिका खरिद शाखाका अनुसार आइतबार प्रति विद्यार्थी २१० ग्राम तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटरसँगै पनिर र चिउरा खुवाउनुपर्नेछ । मङ्गलवार मिक्स गेडागुडीसँगै चिउरा खुवाउनुपर्नेछ । बुधवार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ ।

उपमहानगरपालिका द्वारा सार्वजनिक गरिएको सूचनामा बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । यस्तै, शुक्रवार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । शाहाकारीका लागि भने मटर-पनिर र चिउरा खुवाउनुपर्नेछ ।

सार्वजनिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न दिवा खाजा कार्यक्रम कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि खुवाउँदै आएको छ ।

यसअघि सङ्घीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो । तर, विद्यालयमा समयमै रकम नआउँदा खाजा खुवाउन समस्या हुने गरेको विद्यालय प्रशासनले जनाउँदै आएको थियो ।

इटहरी उपमहानगरपालिकाले अब नयाँ मेनु सार्वजनिक गरेसँगै दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनायो ।

इटहरीका मेयर हेमकर्ण पौडेलले सङ्घीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार सङ्घीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताए ।

इटहरी क्षेत्रमा दिवा खाजा खुवाउनुपर्ने ५० वटा शिक्षालय रहेका छन् । जसमा सामुदायिक, धार्मिक र बाल विकास केन्द्र पर्दछन् । यी विद्यालयका आठ हजार २८ जना दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिका खरिद शाखाका खेम श्रेष्ठले बताए ।