धरान : विद्यार्थीहरूलाई सामाजिक सेवामा अभिप्रेरित गर्दै आपत् विपद्का बेला उद्धार राहत कार्यमा जुट्ने स्काउट शिक्षा संस्थागत विद्यालयहरूमा समावेश गर्ने विषयमा सञ्चालक, प्रधानाध्यापकहरूलाई अभिमुखीकरण गरिएको छ ।

प्रदेश स्काउट कार्यालय, विराटनगरको संयोजनमा मङ्गलवार धरानमा भएको कार्यशालामा सुनसरीका ७५ वटा संस्थागत विद्यालयका सञ्चालक, प्रधानाध्यापक सहभागी थिए । कार्यक्रम निजी तथा आवासीय  विद्यालय अर्गनाइजेसन प्याव्सन सुनसरीको आयोजनामा भएको हो ।

नेपाल स्काउट, कोशी प्रदेश र प्याव्सन, सुनसरी बिच भएको सम्झौता कार्यान्वयन गर्ने क्रममा अभिमुखीकरण आयोजना गरिएको हो ।

प्याव्सन सुनसरीका अध्यक्ष अनुप योन्जन तामाङको अध्यक्षतामा भएको उद्घाटनमा प्याव्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार बेनुप्रसाद सिटौलाको प्रमुख अतिथि थिए । स्काउटका राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, नवल प्रसाद उपाध्याय, प्रदेश सदस्य हेमन्त भण्डारी, सहायक प्रशिक्षक सुशील राई र प्रदेश अधिकृत नवराज घिमिरेले प्रशिक्षण दिएका थिए ।

प्याव्सन सुनसरी उपाध्यक्ष थानेश्वर ढकालले स्वागत मन्तव्य व्यक्त गरेका कार्यशाला सचिव गणेश भण्डारीले सञ्चालन गरेका थिए ।