विराटनगर : डिग्री पढेको सर्टिफिकेट भएर पनि कुनै सिप छैन भने जागिर पाउने अवस्था नभकाएकोले देशमा बेरोजगारी समस्या बढेकोले विद्यालय तहदेखी नै व्यवहारिक र सीपमूलक शिक्षा दिइनुपर्ने विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले बताएका छन् ।

प्याब्सन मोरङद्वारा संस्थागत विद्यालयहरू बिच आयोजना गरिएको हिज्जो प्रतियोगिताको उद्घाटनको अवसरमा मेयर कोइरालाले भने ‘चारवटा विषयमा डिग्री हासिल गरे पनि सीप छैन भने रोजगारी पाउने अवस्था छैन, सबै विषयमा डिग्रीको सर्टिफिकेट छ, सीप छैन भने सर्टिफिकेटको आधारमा जागिर पाउने अवस्था छैन ।’

उनले सैद्धान्तिक र व्यवहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्ति रोजगार बन्न सक्ने अवस्था रहेको बताए । डिग्री आफ्नै ठाउँमा छ, त्यो भन्दा महत्त्वपूर्ण व्यवहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो । नेपालमा मात्रै होइन विदेश जाँदा पनि राम्रो सीप सिकेर गएको छ भने राम्रै पैसा कमाउने अवस्था भएको मेयर कोइरालाको भनाई छ ।

हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेको बताउँदै त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेको उनले बताए । विदेश जानु नपर्ने गरी विराटनगरमा गुणस्तरीय शैक्षिक संस्थाहरू खुलेको तर अझै पनि विदेश जाने प्रवृत्ति झनै बढेको बताउँदै भने ‘गत आर्थिक वर्ष २०७९/८० मा अध्ययनकै लागि नेपालीले १ खर्ब ४२ अर्ब रुपैयाँ विदेश पठाएका छन् ।’

प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल, मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, सचिव जगत बस्नेत, अभिभावक संघ प्रदेश अध्यक्ष देवी पन्थी लगायतले शुभकामना प्रकट गरेका थिए । प्रतियोगितामा मोरङका ४० वटा विद्यालयको सहभागिता रहेको संयोजक भक्तराज सुब्बाले बताए ।