धरान : धरानमा मधेसी समुदायका महिलाहरूले बुधवार सामूहिक रूपमा तीज पर्व मनाएका छन् । मैथिल समुदायमै मनाइने चौंठचन्द्र पर्वको पुर्वसन्ध्यामा तीज विशेष कार्यक्रम आयोजना गरिएको हो ।

मधेसी महिला सेवा समाजको आयोजनामा धरान-१ समाजको कार्यालयमा मधेसी समुदायका महिलाहरू भेला भई हरितालिका तिजको पूर्व सन्ध्या कार्यक्रम भएको थियो ।

प्रमुख अतिथि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्राध्यापक डा. तारा शाहले अनेकतामा एकता भएको बहुसास्कृतिक सहर धरानमा सबै जाति मिलेर बसेको र कसैले कसैलाई भेदभाव गर्न नहुने बताइन् ।

उनले २८ वर्षको सेवा अवधिमा धरान बहुजातिय, बहु धार्मिक सहिष्णुता, सामाजिक सद्भावको समृद्ध नमुना सहरको रूपमा पाउँदै आएका बताइन् ।

धरान उपमहानगरपालिका उपमेयर आईन्द्र विक्रम बेघाले सबिधानमा बहुजातीय बहु धार्मिक बहुसास्कृतिक विविधताका सबै जाती धर्मलाई उत्तिकै सम्मान गर्ने छ भनेर उल्लेख गरेको बताए ।

धार्मिक, सांस्कृतिक विविधतायुक्त इतिहास भएको सहर धरानलाई संस्कार, सस्कृती र पहिचानलाई सम्मान गर्दै समृद्धि तर्फ अघि बढाउन सबैको सहयोग जरुरी भएको उनको भनाई थियो । उनले भने  ‘एकले अर्कालाई अप्ठ्यारो पार्ने क्रियाकलाप गर्नु भन्दा सामाजिक दायित्व र राजनैतिक जिम्मेवारी बहन गर्न स्थानीय सरकार र समुदाय सबैको उत्तिकै भूमिका आवश्यक छ ।

मधेसी सेवा समाज सुनसरी अध्यक्ष महेन्द्र दत्त कायस्थले मधेसी समाजले समय-समयमा सामाजिक, सांस्कृतिक, धार्मिक जिम्मेवारी पुरा गर्दै सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए । उनले २०७८ सालमा संस्था दर्ता गरेर विधिवत् २०७८ घटस्थापनाको दिन कार्यालय उद्घाटन गरिएको बताए ।

उनका अनुसार मधेसी समुदायले मनाउने यो पर्वमा साँझको समयमा उदाउँदो चन्द्रमालाई पूजा अर्चना गरी मनाइने गरिन्छ । यो पर्वमा शुद्धताको विशेष महत्त्व हुने विश्वास छ ।

मधेसी समुदायका महिलाहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा विभिन्न ब्यतित्वहरुलाई सम्मान गरिएको थियो । बालबालिका एवं सहभागीहरूको मनोरञ्जनात्मक म्युजिकल चेयर लगायतका खेल खेलाइएको थियो ।

यसैबिच मधेसी समुदाय मिथिला क्षेत्रमा चौठाचन्द्र पर्व मनाउने तयारीमा लागेका छन् । यस पर्वमा पतिको दीर्घायुका लागि महिला उपवास बसेर हरितालिका तीज पर्व समेत मनाउँछन्। । चौंठचन्द्र पर्वको पूजामा सहभागी परिवारका एक महिला सदस्य दिनभर उपवासमा बसेर साँझपख गौरीपुत्र गणेश र चन्द्रमालाई पूजा गरेर विधिवत् रूपमा पर्व सम्पन्न गर्ने गरिन्छ ।

मधेसी सेवा समाज महिला समिति अध्यक्ष रेखा शाहको अध्यक्षतामा भएको तिज कार्यक्रममा वडा १ का वडा सदस्य रिता सुन्दास लगायत मधेसी सेवा समाजका प्रतिनिधि,  अगुवा, मधेसी महिलाहरूको उपस्थिति थियो ।

madeshi mahila teej (1)madeshi mahila teej (2)