झापा : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका काण्डमा जोडिएका काङ्ग्रेसकै नेता भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

झापा क्षेत्र नम्बर पाँच क्षेत्रीय समितिले आज शुक्रवार दमकमा आयोजना गरेको क्षेत्रीय सम्मेलनका प्रमुख अतिथि शर्माले भ्रष्टाचारमा संलग्न जो सुकै भए पनि उनीहरूको राजनैतिक पक्षधरता नहेरी कारबाही गर्नुपर्ने बताए ।

यस अघि चर्चामा आएका सबै भ्रष्टाचार काण्डका घटनाहरू निष्पक्ष छानबिन गरी दोषी देखिएका सबैलाई कारबाही हुनुपर्नेमा नेपाली काँग्रेस स्पष्ट रहेको भन्दै उनले भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही हुनै पर्ने बताए ।

अहिले नेपालमा केही भएन भनेर नागरिकलाई निराशाको व्यापार भइरहेको भन्दै शर्माले काँग्रेसले आशाको सञ्चार गराउनु पर्ने बताए । नेपालमा केही भएको र धेरै हुन बाँकी रहेकोले हामीले नै बनाउने हो भन्दै नागरिकमा आशाको सञ्चार गराउनु पर्ने महामन्त्री शर्माको भनाइ छ ।

काँग्रेस कार्यकर्ताले चुनावलाई प्राथमिकतामा राखेर भन्दा पनि समाजलाई सकारात्मक बनाउने दिशामा काम गर्नु पर्नेमा उनले जोड दिए । चुनाव हार जित सामान्य कुरा भएको भन्दै उनले हार्दिकता, प्रेम, सद्भावको समाज निर्माण गर्नु पर्नेमा जोड दिए । 

काँग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य द्वय गोमा भट्टराई र सुशीला ढकाल, कोशी प्रदेश सह महामन्त्री खड्ग फागो, पार्टीका झापा जिल्ला सभापति देउकुमार थेबे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।