धरान : लागुऔषध दुव्यर्सनका कारण बालबालिकाहरू बाल अधिकारबाट वञ्चित भएको विषयमा बालबालिकहरुबाटै तयार गरिएका नाटकहरूको प्रतियोगितामा धरान-१५ स्थित च्याम्पियन सेकेण्डरी स्कुलको च्याम्पियन बाल क्लब प्रथम भएको छ ।
प्रतियोगितामा धरान स्कलर्स बाल क्लबले दोस्रो स्थान हासिल गर्‍यो । होलिल्याण्ड स्कुलको होलिल्याण्ड बाल क्लब तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा कुल ८ विद्यालयका बालक्लबहरु सहभागी भएका थिए ।
प्रतियोगिता धरान-१५ वडा कार्यालयले ५९ औँ बाल दिवसको अवसरमा आइतबार आयोजना गरेको हो । अन्तर विद्यालय नाटक प्रतियोगिताको विषय ‘बाल अधिकार तथा लागु औषध दुर्व्यसन’ थियो ।
सोही अवसरमा बालबालिकाहरूले गीत-सङ्गीत र कविता वाचनहरू पनि प्रस्तुत गरेका थिए । वडा १५ बाल सञ्जालकी अध्यक्ष सुश्री हाङमा लिम्बुले बाल दिवस र बाल अधिकारको बारेमा प्रकाश पारेकी थिइन् ।
प्रमुख अतिथि वडा १५ का अध्यक्ष नरेश कुमार इवारम, वडा सदस्य सृजना नेपाल सहिभागी स्कुलहरूका प्रिन्सीपलहरुबाट विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।