• रोहित कुलुङ राई

धरान : पिण्डेश्वर मन्दिरबाट उत्तर पश्चिम स्थित डाँडामा धरान बजार दृश्यावलोकन गर्ने स्थलको रूपमा झण्डा पार्क निर्माण गरिने भएको छ ।

धरान वाड १४ र १५ को सिमानामा पर्ने उक्त ठाउँलाई धरान बजार दृश्यावलोकन स्थल बनाउने धेरै पहिले पहिचान गरिएको थियो । कार्यान्वयन स्वरूप यसपालि मङ्गलवार आयोजित एक कार्यक्रम बिच मेयर हर्क साम्पाङले उक्त स्थलमा ‘झण्डा पार्क’  योजनाको शिलान्यास गरेका छन् ।

एक वडा एक पार्कको योजना अनुसार झण्डा पार्कमा १५ मिटर लामो नेपालको राष्ट्रिय झण्डा रहने छ । धेरै किसिमका फुलहरूको गार्डेन निर्माण गरिने छ । नेपाल सहित ७ देशको झण्डा राख्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

उक्त जग्गा भने पिण्डेश्वर क्याम्पसको स्वामित्वमा छ । उपमहानगरपालिका र क्याम्पस बिच पार्कको लागि जग्गा उपयोग गर्न सहमतिमा भएपछि शिलान्यास भएको हो ।

पार्क सँगै क्याम्पसले ५ कोठे भवन निर्माण गर्ने र व्यवसाय प्रयोजनको लागि प्रयोगमा ल्याउन सहमति रहेको क्याम्पस प्रमुख काशीनाथ पौडेलले बताए ।

यसअघि उपमहानगरपालिकामा राजनैतिक दलहरूको संयन्त्र हुँदा उक्त स्थलको पहिचान गरिएको थियो । त्यहाँ पार्क बनाउने योजना कार्यवाहक मञ्जु भण्डारीबाट सुरु भई मेयर तिलक राईको कार्यकालमा पनि निरन्तरता पाएको वडा १५ का अध्यक्ष नरेश इङवारमले बताए ।

बल्ल यसपालि धरान उपमहानगरपालिका योजना शाखाले निर्माण गरेको योजनाको लागत स्टमेट १ करोड ४१ लाख २९ रुपैयाँ ५३ पैसा रहेको ठेक्का आव्हानमा असार ३ गते ओराकल ईन्जीनियरीङ्ग सोलुसन प्रा.ली सँग कुल ९६ लाख ७७ हजार ३ सय २५ रुपैयाँ ४१ पैसामा निर्माण गर्ने सम्झौता भएको योजना शाखाले जनाएको छ ।

शिलान्यासको अवसरमा मेयर साम्पाङले पार्क बन्न ठुलो कुरा होइन, संरक्षण गर्नु ठुलो कुरा भएको स्थानीय समुदायले बुझ्नुपर्ने बताए । यो ऐतिहासिक भूमिमा नेपालको राष्ट्रिय झण्डा सहितको झण्डा पार्क बन्नु आफैमा महान् कार्य भएको उनको भनाई छ ।

वडा १४ का अध्यक्षले कृष्ण भट्टराईले भने विजयपुर धार्मिक पर्यटन क्षेत्र भएकोले यहाँ मन्दिर दर्शन पछि कहाँ जाने भन्दा भेडेटार भन्न बाध्य छौ यस पार्क निर्माण पछि यहाँ आउने पर्यटक रिफ्रेस हुने बताए ।

उक्त अवसरमा पिण्डेश्वर क्याम्पस प्रमुख काशीनाथ पौडेल, कार्यपालिका सदस्य सृजना नेपाल, वडा सदस्य रंगलाल गिरी, झरना पौडेल, कमल प्रसाद भट्टराई, वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ निराजन टिएलओ अध्यक्ष कैलाश राई नमुना श्रुर्तीमार्ग टिएलओ अध्यक्ष डाकमान राईको पनि उपस्थिति थियो ।

jhanda-park