दमक : झापाको दमकमा विगत ३ दिन यता देखी फोहोर व्यवस्थापन हुन सकेको छैन । दमकमा फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट ईरा ईनर्जी प्रा.लि र नगरपालिका बिचको विवादका कारण दमकमा विगत ३ दिन यता देखी फोहोर उठ्न नसकेको हो ।

नगरपालिका र नेक्स्ट ईरा ईनर्जी प्रा.लि बिचको विगतको सम्झौता कार्यान्वयन नभएको भन्दै फोहोर उठाउन नै छाडेको नेक्स्ट ईरा ईनर्जी प्रा.लि.का प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए । विगत ३ दिन यता देखी सहरको फोहोर नउठ्दा दमकको मुख्य चोक देखी सडकका किनारामा फोहोरको थुप्रो लागेको छ ।

यस्तै दुर्गन्ध समेत फैलिन थालेको भन्दै स्थानीय व्यापारीहरूले त्यसको विरोध समेत गरिरहेका छन् । यस विषयमा आजै कुनै न कुनै टुङ्गोमा पुग्ने प्रबन्ध निर्देशक खतिवडाले जानकारी दिए । यस अघि पनि पटकपटक यसरी नगर भित्रको फोहोर उठाउने विषयमा कम्पनी र नगरबिचको आपसी असमझदारीका कारण फोहोर उठाउने कार्य अवरुद्ध हुँदै आएको थियो ।