धरान : पञ्चायत कालदेखि नेपाली राजनीतिमा सक्रिय योगदान पुर्‍याउँदै आएकी महिला नेत्री मुक्तमाया बास्तोलाको बुधवार काठमाडौँमा निधन भएको छ।

बि.स. १९९३ सालमा खनार ४, सुनसरीमा जन्मिएकी बास्तोलाले २०३५ सालदेखि २०४६ सालसम्म खनार गाउँ पञ्चायतको महिला सङ्गठनको निर्विरोध निर्वाचित महिला सभापतिका रूपमा आफ्नो महत्त्वपूर्ण भूमिका निभाएकी थिइन ।

नेपालमा बहुदलीय प्रजातन्त्र आए पछिका दिनहरूमा पनि उनले नेपाली महिलाको हक अधिकारको आन्दोलनमा आफूलाई निरन्तर सक्रिय तुल्याइन् ।

खनार-४ मा रहेको शारदा माविको स्थापना गर्न भूमि प्रदान गरेर विद्यालयको सञ्चालक समिति मार्फत शिक्षा क्षेत्रमा पनि उनले महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन ।

विवाह पछि इटहरी नगरपालिका १२ मा रही राजनीति एवं सामाजिक कार्यमा उनी सक्रिय रहिन् ।

महिला नेत्री बास्तोलाको निधनमा आफ्नो फेसबुकमार्फत कोशी प्रदेश सभाका सांसद रोहित कार्कीले श्रद्धाञ्जली व्यक्त गर्दै उनी खनार बासीको ढुकढुकी रहेकी र महिला सङ्गठनको सभापतिका रूपमा उनले राजनीतिमा ठुलो योगदान पुर्‍याउनु भएको प्रतिक्रिया दिएका छन्।

उनी राष्ट्रिय खेलाडी स्व.शम्भु बास्तोलाकी आमा हुन ।