धरान : अस्पताल सम्म जान र पुग्न समस्या भएका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी टोल समुदायमा नै हाडजोर्नी शिविर सम्पन्न गरिएको छ । वीपी प्रतिष्ठानका हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रम प्रसाद श्रेष्ठको अगुवाइमा असोज ६ गते शनिवार सिद्धि नेवा: परिषद् धरानमा उक्त शिविर सम्पन्न भएको हो ।

अस्पतालसम्म पुग्न र त्यहाँको प्रक्रिया पुरा गर्न र पालो कुर्न समस्या हुने बिमारीहरूलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले बताए ।

उमेर ढल्कँदै जाँदा घुँडा खिइने, ढाडको नसा च्यापिने जस्ता हाड जोर्नीको समस्या धेरैलाई हुने गरेको र उपचारको अभावमा उनीहरूले धेरै समस्या खेप्नु परेको श्रेष्ठले बताए ।

सामान्य कसरत र केही औषधि सेवन गर्नाले हाड जोर्नीको समस्याबाट बच्न सकिने उनको सुझाव थियो । औषधि समेत निःशुल्क वितरण गरिएको शिविरमा ९८ जनाले स्वास्थ्य सुविधा लिएका थिए ।

सिद्धि नेवा: परिषद्ले सामाजिक उत्तरदायित्व पुरा गर्ने सबै जात जाती र वर्गका लाई स्वास्थ्य सेवा दिन निःशुल्क ज्येष्ठ नागरिक हाडजोर्नी शिविरको आयोजना गरिएको परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताए ।

सिद्धि नेवा: परिषद्ले धरानका विभिन्न रोगका विशेषज्ञ डाक्टरहरूबाट दुई दुई महिनामा स्वास्थ्य शिविर आयोजना गर्ने योजना बनाएको सिद्धि नेवा: परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिए ।

यस अघि डा. इच्छा जोशी सोनीबाट आँखा शिविर, डा.प्रशान्त शाहबाट मुटु रोग सम्बन्धी शिविर, डा. सन्दीप बज्राचार्यबाट पेट सम्बन्धी शिविर सञ्चालन गरिसकिएको छ ।

हाडजोर्नी सम्बन्धी विशेषज्ञ प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ र उनका टिममा अन्य १० जना डाक्टरहरूको टिमबाट स्वास्थ्य सेवा लिन पाएकोमा सहभागीहरू खुसी भएका थिए ।

शिविरमा सम्पन्न औपचारिक कार्यक्रममा सेवा दिन सहभागी भएका डाक्टरहरूको टिम र निःशुल्क औषधि व्यवस्था गर्ने विभिन्न ६ औषधि कम्पनीका प्रतिनिधिहरूलाई खदा सहितले  कृतज्ञता ज्ञापन गरिएको थियो ।

कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठ, कार्य समितिका पदाधिकारी एवम् विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।