इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीमप्रसाद पराजुलीले कोशीमा राजनीतिक अस्थिरता देखिएकोले नयाँ समीकरण बनाउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनमा बहुमत नपुग्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सहकार्य गर्नुपर्ने बताएका हुन् ।

आइतबार नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले राप्रपा सहितको गठबन्धन बनाउनुपर्नेमा जोड दिएका छन् । राप्रपासँग निर्णायक वार्ता गरेर नयाँ गठबन्धन तय गर्नुपर्ने धारणा राखे । ‘कोशी सरकारको स्थिरताका लागि राप्रपासँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्छ ।,’ उनले भने, ‘राप्रपासँग सहकार्य गरी अघि बढ्न नसक्दा पटकपटक कोशी प्रदेश सरकार अस्थिर बन्यो ।’

यसअघि नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारलाई दुई पटक सर्वोच्च अदालतले बर्खास्त गरेको थियो । पहिलो पटक सभामुखको हस्ताक्षर दुरुपयोग गरेको र दोस्रो पटक सभाध्यक्षले मतदान गरेको भन्दै अदालतले बर्खास्त गरेको हो । थापा बर्खास्त भएपछि ठुलो दलको नेताको हिसाबमा नेकपा एमालेका हिक्मत कुमार कार्की नेता भदौ २२ गते मुख्यमन्त्री चयन भएका छन् । उनले असोज २० गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

कार्कीले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधार ५ अनुसार संसद्को कुनै पनि सदस्यले बहुमत सांसदको हस्ताक्षर सहित सरकार गठन गर्नुपर्ने हुन्छ । जसको लागि नेपाली काँग्रेसले आफ्नो नेतृत्वको सरकार गठन गर्न राप्रपासँग सहकार्यको लागि कोशीस गरिरहेको छ । उता नेकपा एमालेले नेकपा एसलाई सरकारमा सहभागी गराउने गरी तयारी अगाडी बढाएको छ । नेकपा सरकारमा सहभागी भए कार्कीले बहुमत पाउने बलियो सम्भावना छ ।