काठमाडौँ : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का एघारौँ महाधिवेशनमा आइसिसी सचिवका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली) ले उम्मेदवारी घोषणा गरेका छन् ।

उनी एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आइसिसी सदस्य र मध्यपूर्व उपसंयोजक भइसकेका छन् ।

श्रेष्ठ लामो समयदेखि दुबईमा व्यवसाय गर्दै आएका छन् । उनले सन् २००७ देखि एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दै आएका छन् । उनले मध्यपूर्वका राष्ट्रलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आइ रहेका छन् ।

विपथमा परेका नेपालीको उद्धार तथा सहयोगका लागि श्रेष्ठ अग्रस्थानमा रहने गरेका छन् । कोभिड-१९ को महामारीमा पनि उनले कालमा नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा समेत सक्रिय भूमिका निभाएका थिए । श्रेष्ठले आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको तर्फबाट नेतृत्व समेत गरेका थिए।

उनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको हक-हितका लागि आइसिसीमा निरन्तर आवाज उठाउँदै आएका छन् । नेपाली श्रमिकका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

श्रेष्ठ कर्ममुखी बन्नुपर्छ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको बताउँछन् । एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्याङ्कन गरेका कारण यस पटक सचिवमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

मध्यपूर्वको नेतृत्वमा रहँदा पाएको अवसरले आफ्नो नेतृत्व क्षमता विकास भएको उनी ठान्छन् । विश्वभर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँधेर सर्वाङ्गीण हितका लागि काम गर्न प्रेरित गरेको श्रेष्ठको भनाइ छ ।

युरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलियामा रहेका नेपालीहरूको व्यथासमेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथाभन्दा फरक नरहेको उनको बुझाइ छ ।

‘विश्वभर रहेका लाखौँ नेपालीहरूको मुद्दामा नेपाल सरकारलाई जिम्मेवार बनाउन आफ्नो उम्मेदवारीले महत्त्व राख्ने छ,’ उनी भन्छन् ।

‘एनआरएनए अभियानकर्मीहरूको माया र नेपाली समुदायको साथका कारण यस पटक आफू विजेता बन्छु,’  उनी आत्मविश्वासी सुनिन्छन् ।