विराटनगर : दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्ययनरत बिद्यार्थीहरुले गुनासो गरेका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साइन्स स्कुल अन्तर्गत स्नातक तहमा 'बी फार्मेसी' अध्ययन गरिरहेका विद्यार्थी र विज्ञ शिक्षकहरूले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भइरहेको गुनासो गरेका हुन । उनीहरूले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन् ।

फार्मासिस्ट तथा मनमोहन प्राविधिक विश्वविद्यालयका फार्मेसी विभाग प्रमुख शाहीविजय रिजालले विना दक्षता र ज्ञान नभएकाहरूले गर्दा फार्मेसी पेशा बदनाम भइरहेकाले अनुगमन गरी विकृति नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उनले फार्मेसीको लाइसेन्स भाडामा लगाउनु भनेको चिकित्सकले नपढेकोलाई लाइसेन्स भाडामा लगाएर उपचार गराई बिरामीको ज्यान लिन सरह भएको बताए । विभागीय प्रमुख रिजालले पढेलेखेका दक्ष औषधी विज्ञहरूले पर्दा पछाडिको हिरो बनेर काम गर्नुपर्नेमा जोड दिए ।

रजिष्ट्रार डा.दिलनाथ फुयाँलले मनमोहन विश्वविद्यालयको फार्मेसी ल्याबलाई आफैले औषधी परीक्षण गर्न सक्ने मेघा ल्याबमा स्तरोन्नति गर्न लागेको बताए । उनले देशमा दक्ष फार्मासिस्टहरुको अभावलाई ख्याल गरेर मनमोहनले 'बी फार्मेसी'को पठनपाठन सुरु गरेको र चाँडै व्याचलर अफ नेचुरोपेथी, पब्लिक हेल्थ र केमिकल टेक्नोलोजी विषयमा पनि स्नातक तहको पठनपाठन गर्न लागेको जानकारी गराए । मनमोहनमा अध्ययन गरिरहेका बी फार्मेसीका विद्यार्थीहरू दक्ष फर्मासिस्ट बनेर सेवा दिन सक्षम हुने रजिष्ट्रार फुयाँलले विश्वास व्यक्त गरे।

विश्वविद्यालयका कानुनी सल्लाहकार कोषराज न्यौपानेले दक्ष फर्मासिस्टहरु विना समग्र स्वास्थ्य प्रणाली भरपर्दो हुन नसक्ने भएकोले फार्मेसी पेशाको विकृति नियन्त्रण गर्न सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए । निमित्त परीक्षा नियन्त्रक भीम काफलेले विश्वविद्यालयको परीक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै समयमै परीक्षाफल प्रकाशित गर्न आफूहरू निरन्तर लागिपरिरहने बताए ।

हरेक वर्षको २५ सेप्टेम्बरका  दिनलाई विश्व फर्मासिस्ट दिवसका रूपमा मनाउने गरिन्छ । मनमोहनमा बी फार्मेसीमा अध्ययनरत बिद्यार्थीहरुले कविता र वक्तृत्वकला प्रस्तुत गरेर सोमवार २५ औ विश्व फर्मासिस्ट दिवस मनाएका थिए । उनीहरूले आगामी दिनमा अझै प्रभावकारी रूपले दिवस मनाउने प्रतिबद्धता पनि जनाए ।