धरान : धरानमा एक साता अघि सुरु भएको अखिल नेपाल फुटबल सङ्घ एन्फाको रेफ्री कोर्षको समापन भएको छ ।

७ दिनको कोर्षमा २१ जना मात्र प्रशिक्षार्थी उत्तीर्ण भएका छन्  ।

एन्फा कोशी प्रदेशले गत असोज ३ गते देखी आयोजना गरेको एन्फा क्याटोगरी ४ रेफ्रि कोर्षमा सहभागी ५१ जना प्रशिक्षार्थीमध्ये २१ जना मात्र उत्तीर्ण हुन सफल भएका हुन ।

एन्फाको आधारभूत रेफ्री कोर्ष उत्तीर्ण उनीहरूलाई मंगलबार कोशी प्रदेश फुटबल सङ्घले प्रमाणपत्र र एन्फा ब्याज वितरण गरेको छ ।

उत्तीर्ण उनीहरूले स्थानीय स्तरको टुर्नामेन्ट र आगामी महिनाबाट सुरु हुने जिल्ला लिग फुटबल खेलाउने कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए ।

आधाभन्दा बढी प्रशिक्षार्थी अनुत्तीर्ण हुनुमा उनीहरूले आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्न नसक्न नै मुख्य कारण रहेको प्रशिक्षकको भनाई छ ।

एक साता सम्म चलेको क्याटोगरी ४ रेफ्री कोर्षमा एन्फामा आबद्ध कोशी प्रदेशका ११ जिल्लाका ५१ जना प्रशिक्षार्थी सहभागी थिए ।

उनीहरूलाई एन्फा स्ट्रक्टर श्रीराम रन्जितकार, डा. शैलेश जोशी, रोजन श्रेष्ठ र मधुसूदन खनालले सहजीकरण गरेका थिए ।