धरान : बिरामी बोक्ने एम्बुलेन्समा प्रहरीले लागुऔषध गाँजा बरामद गरेपछि चालक सहित एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाँजा बोकेको एम्बुलेन्स राजन अधिकारी फाउण्डेशन, धरान नामक संस्थाको नाम सञ्चालन गरिएको हो । त्यसका चालक धरान-११ का ३८ वर्षिय गंगा सरकार मंगलवार राती विराटनगर-१८ लाभाघाटमा पक्राउ परेको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलीले चेक जाँच गर्दा को १ च ४६१९ नम्बरको एम्बुलेन्सको डिकीमा २१ दशमलब ५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो ।

गाँजा बरामद भएपछि राजन अधिकारी फाउण्डेसनको बीआर ३८ एएफओ ३३६ नम्बरको एम्वुलेन्स र चालक गंगा सरकार सहित सोही स्थानमा रहेको बीआर ३८एएफओ ३३६ नम्वरको मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको बताएको छ ।

यसैविच इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीको प्रहरी टोलिले बिराटनगर–१८ स्थित खेतको परालमा लुकाई राखेको १६ दशमलब ५ किलोग्राम गाँजा पनि बरामद गरेको छ ।

लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।