धरान : भगवान् बुद्धको उपदेशहरू सङ्गीतको माध्यमबाट सर्वव्यापी करण गर्न स्थापना भएको ज्ञानमाला सङ्घ सुनसरी २५औँ वर्ष नाघेको अवसरमा रजत जयन्ती मनाइने भएको छ । सङ्घ २०५० सालमा स्थापना भएको हो ।

रजत जयन्ती समारोह धरान-८ स्थित बुद्ध बिहारमा असोज १३ र १४ गते आयोजना गरिने ज्ञानमाला सङ्घकी केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएकी हुन ।

भिक्षु कौण्डन्य महास्थविरबाट २५ दीप प्रज्वलन, बौद्ध झन्डोत्तोलन शान्ति पदयात्रा सहित रजत जयन्ती उद्घाटन गरिने कार्यक्रम छ ।

रजत जयन्तीको अवसरमा सङ्घमा लामो समय देखी सक्रिय पदाधिकारीहरूलाई सम्मानित गरिने छ । सम्मानित हुनेहरूमा संरक्षीका निलकुमारी स्थापित, प्रथम उपाध्यक्ष धर्मकुमारी मोक्तान, द्वितीय उपाध्यक्ष आशा योञ्जन, कोषाध्यक्ष ज्ञानलक्ष्मी श्रेष्ठ, कार्यकारिणी सदस्य बुद्धलक्ष्मी श्रेष्ठ, सल्लाहकार बुद्धराज मोक्तान, सङ्गीत गुरु सन्दीप प्रधान रहेका छन् ।

सोही अवसरमा ‘बुद्धको शान्ति सन्देश’ शीर्षकको ज्ञानमाला भजनको भिडियो सङ्ग्रह विमोचन गरिने छ । भिक्षु कौण्डनयबाट धर्म देशना, ज्ञानमाला भजन खलहरूबाट भजन प्रस्तुति, बुद्ध पूजा, भन्ते गुरुमाहरू, उपासक उपसिकाहरूलाई भोजन दान, भजन सन्ध्यापछि दीपावली गरिने छ ।

बुद्ध विहारकी तत्कालीन अध्यक्ष श्रीमती निल कुमारी स्थापितका संरक्षकत्वमा स्थापना भएको ज्ञानमाला सङ्घकी संस्थापक अध्यक्ष श्रीमती रमना श्रेष्ठ हुन । सङ्घ धरान बुद्ध बिहारको भातृ सङ्गठन हो ।

सङ्घले स्थापनाकालदेखि बुद्ध विहारमा हुने हरेक कार्यहरूमा प्रत्यक्ष परोक्ष रूपमा योगदान पुर्याउदैं आएको छ । ३०औँ वर्षको अवधिमा ज्ञानमाला बुद्धको उपदेशहरू भजन सङ्गीतको माध्यमबाट प्रचार प्रसार गर्दै आएको छ ।