विराटनगर : विराटनगर-२ सोमबारमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक स्थापना गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बिहीबार एक समारोहका बिच अनावरण गरिन् ।

राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथा जस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्त्वपूर्ण रहेको कार्यवाहक मेयर कार्कीले बताइन् ।

उनले योगमाया नारी जागरणको अभियन्ता मात्रै नभएर आदर्शसमेत भएको उल्लेख गरिन् । कार्यक्रममा कार्यवाहक मेयर कार्कीले योगमाया परिकल्पना गरेको समाज अझै निर्माण हुन नसकेको बताइन् ।

उनले अझै पनि समाजमा लैङ्गिक, जातीय लगायतका विभेदहरू कायमै रहेको चर्चा गरिन् । “योगमायाले परिकल्पना गरेको समाज अझै निर्माण हुन सकेको छैन,” कार्कीले भनिन्, “हामी सबै मिलेर उनले सोचेको र परिकल्पना गरेको समाज निर्माण गर्नु जरुरी छ ।”

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ११ का तीर्थेन्द नेउपाने, प्राध्यापक कविराज न्यौपाने, समाजसेवी सुरेशकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं. १९९८ असार २१ गते हरिशयनी एकादशीका दिन सामाजिक अभियन्ता योगमाया सहित ६८ जना नारीहरुले  अरुण नदीमा जलसमाधी लिएका थिए ।

yogmaya 2