धरान : जापान पठाइदिने भनेर रकम असुलेर फरार भएको आरोपमा काठमाण्डूको एक म्यानपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-२ का ५० वर्षीय डिल्लीराम खतिवडा छन् । उनी म्यानपावर कम्पनी जेनुइन प्लेसमेन्ट प्रालिका सञ्चालक भएको बताइएको छ । खतिवडा काठमाण्डू धुम्बाराहीमा बस्दै आएका छन् ।

उक्त कम्पनीबाट ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर खतिवडाले प्रतिव्यक्ति ८ लाख रुपैयाँ उठाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

जापान पुगेपछि प्रतिष्ठित कन्स्ट्रक्सन मासिक एक लाख ८० हजार तलब पाइने काम लगाइदिने आश्वासन ठगिनेहरूले बताएका छन् । खतिवडाले पीडितहरूबाट पटक पटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ ।

रकम उठाएर सम्पर्क विहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । सोही आधारमा खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान गर्न वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।