धरान : प्याब्सन एन्फा प्रेसिडेन्ट कप सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल लिगमा सिद्धार्थ बोर्डिङ स्कुल वराहक्षेत्रले उपाधि हात पारेको छ ।
आइतबार भएको फाइनल चरणको अन्तिम खेलमा हिमशिखर बोर्डिङ स्कुल तरहरालाई १-० गोलले हराउँदै सिद्धार्थ बोर्डिङ स्कुल वराहक्षेत्र फाइनल चरणका तीन खेलमा कुल ९ अङ्कका साथ विजेता भएको हो ।
धरान-१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको फाइनल चरणको खेलहरू लिगको आधारमा भएको थियो । विजेता सिद्धार्थ बोर्डिङ वराहक्षेत्रले नगद २० हजार सहित ट्रफीका, मेडल र प्रमाणपत्र हात पारेको छ ।
यस्तै फाइनल चरणमा ३ अङ्कका साथ महेन्द्र मेमोरियल बोर्डिङ स्कुल दुहबी प्रतियोगितामा दोस्रो भयो । दोस्रो महेन्द्र मेमोरियल दुहबीले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो भएको हिमशिखरले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा इटहरी स्थित हिमशिखर बोर्डिङ स्कुल र धरानको होलिल्याण्डले ३ अङ्क बटुल्दै एक जित हासिल गरेको थियो । तर गोल अन्तरमा महेन्द्रले बाजी मारेपछि हिमशिखर तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो भने होलिल्याण्ड चौथो स्थानमा चित्त बुझाउनु परेको थियो ।
प्रतियोगितामा चौथो भएको धरानको होलिल्याण्ड बोर्डिङ स्कुलले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र हात परेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिद्धार्थका सरुण चौधरी घोषित हुँदै नगद ५ हजार र ट्रफी पुरस्कार पाए भने फाइनल खेलको म्यान अफ दि म्याच सिद्धार्थकै सुरज सुवेदी घोषित भए ।
यस्तै बेष्ट गोलकिपर सिद्धार्थका सन्देश चौधरी, बेष्ट डिफेन्डर हिमशिखरका नेल्सन गुरुङ, बेष्ट मिडफिल्डर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल, बेष्ट स्ट्राइकर सिद्धार्थका सुशान्त चौधरी, बेष्ट कोच सिद्धार्थका अजित अधिकारी घोषित हुँदै जनही नगद २ हजार र ट्रफी पुरस्कार पाए । प्रतियोगिताको फाइनल चरणमा सर्वाधिक ३ गोल गरेका महेन्द्र मोरङका आशिष् भगतले नगद ३ हजार र ट्रफी पुरस्कार पाए ।
खेलाडीहरूलाई आयोजक एन्फा सुनसरीका अध्यक्ष नवीन राई, प्रमुख अतिथि एवं प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई, प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन, वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल, सल्लाहकार डा.वेणुप्रसाद सिटौला, कोषाध्यक्ष दीपक कार्की, इन्दिरा कार्कीलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा पूर्व खेलाडी धरान-१८ निवासी गोविन्द राईलाई खेलकुदमा योगदान पुर्‍याएका राईलाई कदरपत्रले  सम्मान गरिएको थियो ।
एन्फा सुनसरीको आयोजना तथा प्याब्सन सुनसरीको संयोजनमा आयोजित प्रतियोगितामा जिल्लाभरिका प्याब्सनमा आबद्ध ३२ वटा स्कुलहरूले सहभागिता जनाएका थिए ।
पहिलो चरणको नकआउट इटहरी उपमहानगरपालिकाबाट १० वटा स्कुल, दुहबीबाट २ वटा झुम्काबाट ४ र गढी गाउँपालिकाबाट १ वटा स्कुल गरी जम्मा १६ वटा स्कुल बिचको खेल इटहरीको तालतलैया खेलमैदानमा भएको थियो भने धरानका ८ वटा स्कुल रामधुनीबाट ४ वराहक्षेत्रबाट ४ गरी १६ वटा स्कुल बिचको खेल वराहक्षेत्र नगरपालिकाको भलुवाचौरी खेलमैदानमा भएको थियो । नकआउटका विजेता टिमहरू धरानमा भएको दोस्रो चरणको लिग खेलकालागि ती दुई क्षेत्रबाट २/२ वटा टिमलाई धरानमा फाइनल चरणको खेल लिगको आधारमा खेलाइएको थियो ।