धरान : नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सहितको समाजवादी मोर्चाको सुनसरी जिल्ला समितिको औपचारिक घोषणा गरिने भएको छ ।

यसअघि केन्द्रीय मोर्चा, प्रदेश मोर्चा घोषणा भए अनुसार असोज २६ सुनसरी जिल्ला मोर्चा इनरुवामा सन्देश सभा आयोजना गरी घोषणा गरिने भएको हो । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य चोत्लुङले बताएका छन् ।

उनका अनुसार माओवादी सुनसरी संयोजक योगेन्द्र मण्डलको अध्यक्षतामा मङ्गलवार बसेको बैठकले मोर्चाको घोषण सभा गर्ने निर्णय गरेको हो ।

बैठकमा माओवादी केन्द्र सुनसरी इन्चार्ज मणि खम्बु किराँती, जिल्ला सदस्य चोत्लुङ, जनता समाजवादी पार्टीका सुनसरी अध्यक्ष भगीरथ खत्वे, उपाध्यक्ष गुरुदेव यादव, सदस्य दिलीप शाह, नेकपा एकीकृत समाजवादी सुनसरी अध्यक्ष गोविन्द निरौला, सदस्य वसन्त सुवेदी, नेपाल कम्युनिस्ट पार्टी सुनसरी इन्चार्ज डिबि सिंह, सचिव सुरेश सिंहको उपस्थिति थियो ।

घोषणा सभा निर्माण व्यवसायी सुनसरीको इनरुवामा सभाहलमा आयोजना गरिने छ । जिल्ला सदस्य चोत्लुङका अनुसार सभा उद्घाटनमा माओवादीका केन्द्रीय सचिव चक्रपाणि खनाल लगायत समाजवादी मोर्चाका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने छन् ।