विराटनगर : विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

महानगरवासीलाई सहज र सर्वसुलभ रूपमा अस्पताल जानका लागि महानगरले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले मंगलबार एक समारोहका बिच एम्बुलेन्स सेवाको शुभारम्भ गरे ।

महानगर क्षेत्रभित्र बसोबास गर्ने संस्थागत प्रसूतिका लागि एम्बुलेन्स सेवा निःशुल्क हुनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र निलो कार्ड प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यवाहक मेयर कार्कीले जानकारी दिए ।

दुई वटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ । त्यस्तै लक्षित व्यक्तिबाहेक विराटनगर क्षेत्रभित्र एम्बुलेन्स सेवा प्रयोग गरेबापत अन्यलाई ३ सय रुपैयाँ शुल्क तोकिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताए । विराटनगर बाहिरबाट बिरामी ल्याउनका लागि प्रयोग नगरिने उनको भनाइ थियो । 

विराटनगर बाहिर बिरामी लानु परेमा जिल्ला एम्बुलेन्स सेवा शुल्क निर्धारण समितिले प्रस्ताव गरे बमोजिम सेवा शुल्क लाग्नेछ । महानगरले रानी अस्पताल, वैजनाथपुर अस्पताल, कोचाखाल स्वास्थ्य केन्द्र लगायतका स्थानबाट महानगरवासीलाई सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । मेयर नागेश कोइरालाले कार्यभार सम्हालेदेखि नै स्वास्थ्य र शिक्षा सेवालाई विशेष प्राथमिकतामा राख्दै आएका छन् ।