धरान : नेकपा एमालेका मजदुर नेता भीम ज्वाला राई पार्टीको कोशी प्रदेश कमिटी सदस्यमा मजदुर क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरी विजयी भएका छन् ।

प्रथम प्रदेश अधिवेशनको निर्वाचनमा मजदुर क्षेत्रबाट राईसँगै किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार पाँच जना विजयी भएका छन् ।

भीम ज्वाला राईले ६१४ मत प्राप्त गरे । उक्त मत मजदुरबाट विजयी हुनेहरूमा सबैभन्दा बढी हो । साथै उपसचिवमा विजयी जल वर्षा राजवंशीले पाएको मत भन्दा दोस्रो हो । राजवंशीले ६२८ मत प्राप्त गरी विजयी भए ।

धरानका भीम ज्वाला मजदुर आन्दोलनमा निरन्तर क्रियाशील नेता हुन् । बस कन्डक्टरका रूपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील राई नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य हुन् ।

चुनावमा अध्यक्षमा घनश्याम खतिवडा ८२ मतान्तरले, उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरूका जल वर्षा राजवंशी र देवान राई निर्वाचित भएका छन् ।