धरान : काठमाडौँ उपत्यका बाहिर पाल्पाको एक गाउँमा पहिलो पटक सबै भन्दा ठुलो राशि पुरस्कार प्रदान गरिने क्रिकेट प्रतियोगिता हुने घोषणा गरिएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दोस्रो हुने टिमले २१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका-१ ख्याहा कराम्दीको खेल मैदानमा हुने बताइएको छ ।

यसपालि दसैँको अवसरमा ख्याहा पाल्पा काठमाडौँ समाजले उक्त खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता पाल्पाको ख्याहामा कार्तिक ८ गतेदेखि सञ्चालन हुने समाजका सचिव कमल पाण्डेले जानकारी दिएका हुन ।

उनका अनुसार भदौ २५ गते बसेको समाजको बैठकले कात्तिक ८ देखि १० गतेसम्म खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । प्रतियोगिता रिब्दिकोट गाउँपालिका-१ ख्याहा कराम्दीको खेल मैदानमा हुने बताइएको छ ।