विराटनगर : विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ ।

महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्यतर्फ वार्षिक समीक्षा सम्पन्न भएको हो । कार्यवाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताइन् ।

उनले महानगरवासीले सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउने गरी कार्य गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह समेत गरिन् । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूले समयमा नै पूर्ण रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए । 

उनले निजी संस्थाहरूले विभिन्न खाले बिरामीहरूलाई नेपाल सरकारद्वारा दिइएको छुटसम्बन्धी विवरण चुस्त दुरुस्त राख्नसमेत आग्रह गरे । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले स्वास्थ्य संस्थाहरूले प्रतिवेदनमा पेस भएका जस्तै वास्तविकतामा नअपनाएको भनी आत्मसीक्षा जरुरी रहेको औँल्याए  ।

विगतका कमीकमजोरीलाई सच्याउँदै महानगरवासी स्वास्थ्य पहुँच अझै सहज बनाउनुपर्नेमा उनको जोड थियो । गत आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा शतप्रतिशत बजेट खर्च भएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

कार्यक्रममा महानगरका तर्फबाट तथ्याङ्क अधिकृत दीपक भट्टराई, वैजनाथपुर अस्पतालका तर्फबाट सिनियर अहेव अधिकृत भोला तिम्सिना, विराटनगर आँखा अस्पतालका तर्फबाट कुमार पृथुलगायतले आफ्नो संस्थाले गरेका कार्यको प्रस्तुतीकरण दिएका थिए । सो अवसरमा विराटनगर महानगर अन्तर्गतका २१ वटा स्वास्थ्य संस्थासहित विराटनगर क्षेत्रभित्रका निजी स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।