धरान : हिन्दु राज्यको माग र गौ संरक्षण क्रियाशील रहेकै कारण युवा सन्त आचार्य श्री निवासलाई प्रशासनले अपहरणको शैलीमा बिना कारण पक्राउ गरेका भन्दै धरानको विजयपुर क्षेत्र धार्मिक संरक्षण समन्वय समितिले तत्काल ससम्मान रिहा गर्न माग गरेको छ ।

समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्दिर अगाडि चर्च निर्माण गरेर सनातनी हिन्दुहरूलाई हेप्ने प्रयास गरिएको, समाजमा विद्वेष फैलाइरहँदा उनीहरूलाई कानुनी कारबाही गर्नुको सट्टा संरक्षण दिइरहेको आरोप लगाउँदै आचार्य श्री निवासको रिहाइको माग गरेको हो ।

प्रहरीले मङ्गलवार वराहक्षेत्र नगरपालिका चकघट्टी स्थित उनकै आश्रमबाट आचार्य श्री निवासलाई नियन्त्रणमा लिएको थियो । उनले केही दिन अगाडि जनकपुरमा बेधर्मीलाई खुकुरीले काट्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि धार्मिक तथा साम्प्रदायिक घृणा फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

समन्वय समितिले वक्तव्यमा श्री निवासलाई पक्राउ गरी बेपत्ता बनाएको भन्दै उक्त घट्नाप्रति ओमकार परिवारको घोर आपत्ति रहेको उल्लेख गरेको छ । वक्तव्यमा भनिएको छ ‘खुलेआम गौहत्या गरेर चुनौती दिनेहरूलाई खुल्ला छाडेर ओमकार परिवारलाई छानीछानी धरपकड गर्ने कारबाहीको धम्की दिने यो सरकार विदेशी मालिकको इशारामा धर्म समाप्त गर्न क्रियाशील रहेको बुझिन्छ ।’