धरान : दसैँ लागेपछि विराटनगर स्थित नेपाल-भारत सीमा क्षेत्रको बजारबाट भन्सार छलेर ल्याएका दसैँ बजारका समान पक्राउ पर्न थालेका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार दसैँ बजारका लागि भन्सार छलेर ल्याइएका करिब १ लाख ४ हजार ७५० रुपैयाँ मूल्य बराबरको समान प्रहरीले बरामद गरेको छ ।

बरामद सामानमा इण्डियन कुर्था, सुरुवाल, लेडिज टप्स, जेन्स अण्डरवेयर समेत छन् । प्रदेश प्रहरी कार्यालयको पीआइटी टोलीले विराटनगर १४ र १५ वडाको भारतीय सिमाक्षेत्रबाट नेपाल ल्याउँदै गरेको समान चेकजाँच गर्दा भन्सार छलेको पाइएको हो ।

पक्राउ गरिएको सामान भन्सार सम्बन्धी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको छ ।

चाडपर्व नजिकिँदै गएको बेला सीमावर्ती भन्सार क्षेत्रमा हुने अवैध कारोबारलाई लक्षित प्रहरीले थप कडाइका साथ चेकजाँच सुरु गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।