धरान : प्रहरीले बिहीबार सुनसरीको लौकही र मोरङको पथरीबाट ४ जना युवालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट भोक्राहा नर्सिङ गाउँपालिका-६ का २४ वर्षीय नजाम आलम र वराहक्षेत्र नगरपालिका-११ का ओसिम अन्सारी छन् ।

उनीहरूलाई ५६ ग्राम लागुऔषध ब्राउनसुगर सहित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटी समूह र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

यसै गरी मोरङको पथरीमा पक्राउ पर्नेहरूमा सुनवर्सी नगरपालिका-९ का ५० वर्षीय मित्र बहादुर बस्नेत र पथरीशनिश्चरे-९ का २६ वर्षीय रविन धिमाल छन् । 

उनहरूलाई प्रहरी चौकी सिक्टी र इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

धिमाललाई ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो । बस्नेतलाई प्रतिबन्धित औषधी ट्रामाडोल ७ हजार २८० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।