इटहरी  : सुन्दरहरैँचा नगरपालिकाले आफ्नै विद्यालय शिक्षा कार्यविधि विपरीत सञ्चालक समिति नियुक्त गरेको छ । सुन्दरहरैँचा ४ को श्री आदर्श आधारभूत विद्यालयको सञ्चालक समितिमा निजी विद्यालयका सञ्चालक तथा शिक्षकलाई नियुक्त गरेको हो ।

२०७९ चैत्र १६ गते नगर शिक्षा समितिको बैठकले ४ नम्बर वडाका माधव ढकाललाई व्यवस्थापन समिति सदस्य नियुक्त गरेको छ । नगरपालिकाको विद्यालय शिक्षा ऐन २०७९ को दफा १७ (ग) अनुसार नियुक्ति भएका ढकाल पूर्वाञ्चल एकेडेमीका शिक्षक हुन् ।

प्रचलित नियम, कानुन बमोजिम सक्रियताका साथ विद्यालयको समग्र पक्षको सुधारको लागि काम गर्न उनलाई मनोनीत गरिएको छ । शिक्षा शाखा अधिकृत लिलादेवी ओझाले हस्ताक्षर गरेको पत्रका आधारमा उनी व्यवस्थापन समिति सदस्यको जिम्मेवारीमा छन् ।

उनको नियुक्ति सुन्दरहरैँचा नगरपालिकाको विद्यालय शिक्षा कार्यविधि २०७५ को दफा ३० को (ङ) को विपरीत छ ।  अन्य सामुदायिक वा संस्थागत विद्यालयको शिक्षक वा कर्मचारी साथै राष्ट्रसेवक, बहालवाला कर्मचारी तथा अन्य विद्यालय व्यवस्थापन समितिमा रहेका पदाधिकारी भएमा नियुक्त हुन नपाउने कार्यविधिमा व्यवस्था छ ।

सङ्घीय सरकारको शिक्षा ऐन २०२८ को दफा १२ उपदफा १ (ग) मा शिक्षा समितिले विद्यालय व्यवस्थापन समिति नियुक्त गर्न नपाउने व्यवस्था गरिएको छ । हाल प्रचलित सोही ऐन अनुसार विद्यालयको संस्थापक, चन्दादाता, शिक्षा प्रेमी र स्थानीय बुद्धिजीवीहरू मध्येबाट विद्यालय व्यवस्थापन समितिले एक महिला सहित २ जना मनोनीत गर्नुपर्ने हुन्छ ।

सङ्घीय सरकारको ऐन सँग बाझिने गरी बनेको नगर शिक्षा ऐनले आफ्नै पालिकाको कार्यविधिलाई समेत मिचेको छ । व्यवस्थापन समितिले एक महिला सहित २ जना नियुक्त गर्नुपर्ने सङ्घीय शिक्षा ऐन भए पनि शिक्षा समितिले दुवै जना पुरुष नियुक्त गरेको छ । समितिले ढकाल सहित स्थानीय हर्कराज परियार व्यवस्थापन समिति सदस्य चयन गरेको हो ।

नगर शिक्षा समितिका प्रमुख तथा मेयर केदार प्रसाद गुरागाईँले यस विषयलाई बाहिर ल्याउन जरुरी नभएको जवाफ दिएका छन् । ढकालले राजीनामा दिइसकेको बताएका उनले केही दिनमै स्वीकृति हुने उनको भनाइ छ ।

उता व्यवस्थापन समितिमा नियुक्त भएका ढकालले राजीनामा नदिएको प्रष्ट पारे । निजी विद्यालयमा रोजीरोटीको लागि गरी खाएको बताउँदै उनले कुनै पनि संस्थामा आफ्नो सेयर नरहेको बताए । निजी विद्यालय सञ्चालक रहेको प्रमाण भए ल्याउन उनले चुनौती समेत दिए ।

sundarharaichha-Kapuri