धरान : प्रहरीले उदयपुर जिल्लामा पर्ने वराहक्षेत्र-बेलका कोशी पुल र बेलाका नगरपालिकाबाट शनिवार लागुऔषध ब्राउन सहित ३ जना युवालाई पक्राउ गरेको छ ।

कोशी पुल नजिकै बेलका-८ कोठुबाट कोशी गाउँपालिका-५ श्रीपुरका २१ वर्षीय खैरुल वासरलाई २० ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

उदयपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्दा वासरबाट लागुऔषध बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी चेकजाँचमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-१ आम्बासीबाट लागुऔषध सहित सप्तरीको कंकालिनी नगरपालिका(१ का २७ वर्षीय बेचन मण्डल र ३२ वर्षीय जितेन्द्र मुखियालाई पक्राउ गरेको छ ।

प–२–०१–००१ प। ४९५० नम्बरको मोटर साइकलमा फत्तेपुरबाट उदयपुरको रामपुरतर्फ आउँदै गरेको अवस्थामा शङ्का लागि उनीहरूलाई चेकजाँच गर्दा १६ ग्राम ४७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका उनीहरूको बारेमा जिल्ला प्रहरी कार्यालय उदयपुरले थप अनुसन्धान गरिरहेको बताइएको छ ।