धनकुटा :  धनकुटा नगरपालिकाले हतारमा एभोकाडो टिपेर बजार नपुर्‍याउन किसानसँग आग्रह गरेको छ । ५ वर्ष पहिले नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गर्दै किसानलाई एभोकाडो खेतीमा आकर्षित गरेको थियो ।

धनकुटाका अधिकांश घरमा एभोकाडो लगाइएको छ । तर, सिजन अगावै बजारमा छ्यापछ्याप्ती एभोकाडो पुर्‍याइएपछि त्यसले धनकुटाको ब्राण्डिङ समस्या हुने बुझाइका साथ किसानलाई सार्वजनिक सूचना मार्फत जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले जानकारी दिए ।

'कलिलो र कम गुणस्तरको फल टिपेर बिक्री वितरण गरेको पाइएपछि उपभोक्ताबाट गुनासो आयो ।' राईले भने- 'एभोकाडोको गुणस्तरमै प्रश्न उठ्ने भएपछि फल परिपक्व भएपछि मात्रै बजारमा पुर्‍याउन किसान, व्यापारी र उद्यमीलाई अनुरोध गरिएको हो ।'

उनका अनुसार सार्वजनिक सूचनासँगै एभोकाडो परिपक्व भएको फल कसरी चिन्ने, फलको टिपाइ भण्डारण, ग्रेडिङ, प्याकेजिङ र लेवलिङबारे किसानलाई जानकारी दिइएको छ । यसले कलिलैमा फल छिटो बजार पुर्‍याउने कार्यलाई निरुत्साहित गर्ने धनकुटा नगरपालिकाले विश्वास लिएको  छ ।

पालिका भित्र राम्रो उत्पादन हुन थालेपछि २०७५ वैशाखमा पहिलो पटक धनकुटाले एभोकाडो राजधानी घोषणा गरेको थियो । फलको नामबाट उत्सव मनाएको पालिकाले यसअघि यसको सम्भाव्यता अध्ययन गरी किसानको आर्थिक उपार्जनमा टेवा पुग्ने यकिन गरेरै कार्यक्रम घोषणा गरिएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । उनका अनुसार सुरु वर्षमा १९ सय ६३ घरधुरीबाट सुरु भएको एभोकाडो खेती हाल ४ हजार ९ सय २६ परिवार यो खेतीमा आबद्ध छन् । पालिका भित्र ४ हजार ४० रोपनीमा भइरहेको खेती विस्तार भएर १२ हजार ९९ सय रोपनीमा पुगेको छ । अधिकारीका अनुसार २०७५ सालमा नगरपालिका भित्रबाट २३ लाख ३२ हजारको एभोकाडो बिक्री भएको तथ्याङ्क थियो भने २०७८ सालमा ३ करोड १९ लाखको एभोकाडो बिक्री भएको थियो ।

एक पटक रोपेपछि वर्षौँसम्म उत्पादन दिने यस फलप्रति किसानहरूको आकर्षण बढिरहेको उनले जानकारी दिए । तर, खेती बिस्तारसँगै एभोकाडो फल र बोटमा समस्या समेत देखिन सुरु भएको छ । त्यसको दीर्घकालीन रोकथामका लागि पालिकाले पख्रिबास स्थित कृषि अनुसन्धान केन्द्रसँग रोग किरा व्यवस्थापनका लागि समन्वय गरिरहेको अधिकारीले जानकारी दिए ।

उनका अनुसार पालिका क्षेत्र भित्रका किसानलाई एभोकाडोको नर्सरी व्यवस्थापन देखि बिरुवा र एभोकाडो जुस पसल सञ्चालन गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । धनकुटाको एभोकाडो धरान, इटहरी, विराटनगरसँगै काठमाडौँको बजारसम्म पुग्ने थालेका छन् । अहिले व्यवसायीले किसानको बगैँचामै पुगेर एभाेकाडाे खरिद गर्न थालेको आर्थिक विकास अधिकृत अधिकारीको भनाइ छ ।

avocado 2