• आरसी अधिकारी

कोलकाता : भारतको पश्चिम बङ्गालको हावडा म्युनिसिपल कर्पोरेसन, कोलकाताले आदिकवि भानुभक्त आचार्यको नाममा त्यहाँ स्थित एक मुख्य सडकको नामकरण गरेको छ ।

हावडाको चपलादेवी रोडमा रहेका सेन्ट थोमस हाई स्कुलदेखि मनसातला तथा नरसिंह दत्तोसम्मको पाँच सय मिटर दुरीको सडकलाई भानुभक्त मार्ग ‘भानुभक्त सरणी’ नामकरण गरेको हो । यस भन्दा पहिले उक्त सडकको नाम डब्ल्यु रोड थियो ।

भानुभक्त सरणी नामाकरणका लागि हावडास्थित जनकल्याण समिति दासनगरले आठ वर्षदेखि माग गर्दै आएको समितिका अध्यक्ष बद्रीविक्रम थापाले बताए । उनले भने ‘आठ वर्षदेखि माग राख्दै आएका थियौँ ।’

उनका अनुसार पश्चिम बङ्गाल सरकार तथा म्युनिसिपल कर्पोरेसनले मागको सुनुवाइ गरेकोमा कोलकाताका नेपालीहरू खुसी छन् । नामकरण गर्ने कार्यमा पश्चिम बङ्गालका कृषि मन्त्री अरूप रायको भूमिका समेत उल्लेखनीय रहेको थापाले बताए ।

संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घका समेत अध्यक्ष थापाले कोलकातास्थित सम्पूर्ण संघसंंस्थाले भानुभक्त सारिणीका लागि माग गर्दै आएका थिए । कोलकातामा रहेका नेपालीले कला तथा संस्कृति मार्फत नेपाललाई चिनाउने पहल गरेकाले सफल भएको मौलो पत्रिकाका सम्पादक नरबिक्रिम थापाको भनाई छ । 

आदिकवि भानुभक्तको नामबाट सरणी नामकरण गर्न पाएकोमा एकापसमा बधाई साटासाट गरिएको उनले सुनाए । समितिको पहलमा विगत २५ वर्षदेखि त्यहाँ भानु जयन्ती समेत मनाउँदै आएको गोरखनाथ सेवा समितिका सभापति चन्द्रबहादुर श्रेष्ठले बताए ।

यसपालि २१० औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा वृहत् साहित्यिक कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

कोलकातामा यो समेत भानुभक्तको नाममा दुई वटा सडकको नामकरण भएको छ । यस अघि सन् २००७ मा कोलकाता महानगर र नेपाली महावाणिज्य दूतावासको पहलमा आलिपुर रोडलाई भानुभक्त शरणी नामकरण गरिएको थियो ।

विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्था र तत्कालीन राजदूत डा.गोविन्द कुसुम तथा उनीपछि गएको अर्का राजदूत राजदूत सुरेशमान श्रेष्ठको पहलमा उक्त सडकलाई भानुभक्त सारिणी नामकरण भानुभक्त गरिएको हो ।

भारतको स्वतन्त्रताको खातिर भारतीय सेनामा कार्यरत नेपालीहरूको योगदानको सम्मान गर्न नेपाली स्रष्टाको नाममा मार्ग नामकरणको माग गरिएको नेपाली जनकल्याण समितिका अध्यक्ष थापा बताउँछन् ।

कोलकाता महानगर क्षेत्रमा कयौँ धर्मशाला रहे पनि नेपालबाट आउने तीर्थयात्री तथा पर्यटकका लागि पनि धर्मशाला व्यवस्था गर्न समेत पहल भइरहेको उनले बताए । भारतमा नेपालका अन्य स्रष्टा भन्दा भानुभक्तलाई बढी मान्ने भएकोले उनकै नाममा मार्गको नामकरण गरिएको हो ।

उनका अनुसार मोतीराम भट्ट, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत कविहरूको जन्म जयन्तीमा पनि विशेष कार्यक्रम आयोजना गरिँदै आएको छ । जसका लागि कोलकातामा भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्चले समेत गतिविधि गर्दै आएको मञ्चका अध्यक्ष नारायणप्रसाद होम गाईले बताए ।

कोलकातामा गंगासागर मेला, दुर्गा पूजा, बुद्धजयन्त्री, लगायत कार्यक्रम पनि विशेष रूपमा मनाउने गरिएको छ । यसैबिच, आगामी माघ १ देखि ९ सम्म हुने गंगासागर मेलामा संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घ कोलकाताको पहलमा १० बेडको मिनी अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ ।

मिनी अस्पतालमा दुई वटा एम्बुलेन्स र स्वास्थ्य जनशक्ति रहने सङ्घका अध्यक्ष बद्रीविक्रम थापाले बताए । पछिल्लो नामकरण गरिएको भानुभक्त सरणीको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । थापाले भने ‘तिथि जुराएर हामी नामकरणको औपचारिकता दिने तयारीमा छौँ ।’