वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा टोलमा मोटर बाटो पुर्‍याउन नगरपालिकाले काम थालेको छ । हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिरबाट मोटर बाटोले जोडन ट्राक खोल्न अध्ययन थालेको हो ।

बुधवार बिहान नगरपालिकाका प्राविधिक लिएर नगर प्रमुख रमेश कार्की र वडा नं १ का अध्यक्ष किसन थापा मगर मोटर बाटोको ट्र्याक खोल्ने कार्यको अध्ययनका लागि गाउँमा आउनु भएको स्थानिय देबचन्द्र राईले बताए ।

दुई टोलमा गरेर करिब ३० घर रहेको उक्त गाउँ वराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ । वराहक्षेत्र मन्दिरबाट करिब ६ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुर्याउने योजना अनुसार ट्र्याक खोल्न नगरपालिकाले योजना बनाएको नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीले भन्ने,"मोटर बाटोको ट्राक खोल्न स्थानीयहरूको सक्रियतामा नगरका प्राविधिकहरू सहित निरीक्षण गरिएको छ । अब प्राविधिकहरूले थप अध्ययन गरेर दसैँ, तिहारपछि ट्राक खोल्ने काम हुन्छ।"

नगर प्रमुख कार्की, वडा अध्यक्ष मगर सहित नगरपालिकाका प्राविधिक इन्जिनियर राजु भट्टराई, नवीन खनाल, वराहक्षेत्र मन्दिर संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ र सदस्य गणेश परियार ट्र्याक खोल्ने योजना सहित बाक्सिङटार र सिलपाखा पुगेका थिए ।

साबिक वराहक्षेत्र गाविस वडा नं ९ को पुरानो गाउँ भएपनि मोटर बाटो अहिलेसम्म गाउँमा नपुगेका कारण धेरै कुराको असुविधा हुने गरेको स्थानिय रबि राईले बताए । विद्यालय जान, अस्पताल जान, गाउमा उत्पादन भएका कृषि उत्पादन बिक्री गर्न मोटर बाटो नहुदा धेरै नै असहज भई राखेको उनको भनाई छ । उन्ने भन्ने,"बुधवार प्राविधिक सहित वडा अध्यक्ष र नगर प्रमुख गाउँमा मोटर बाटो पुर्याउने योजना सहित आए पछि खुसी लागेको छ । अब चैँ हाम्रो समस्या समाधान हुन्छ जस्तो लागेको छ । नगर प्रमुख आफै प्राविधिक लिएर मोटर बाटोको लागि ट्र्याक खोल्ने योजना लिएर आउँदा हामी धेरै खुसी छौ । हामी पनि श्रमदान गर्ने छौ ।"

नगर प्रमुख, वडा अध्यक्ष र प्राविधिकसँगै बाक्सिङटार र सिलपाखा पुगेका वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले मोटर बाटोले पुगे पछि स्थानीयको समस्या आधा हल हुने बताए । पुरानो गाउँ भए पनि हालसम्म मोटर बाटो नपुगेको र नगर प्रमुख मोटर बाटो पुर्‍याउन सक्रिय हुनु भएको भन्दै खुसी समेत भएको बताए ।