झापा : इलामको चुलाचुली गाउँपालिकाले पालीका भित्र रहेका बुहारीहरूलाई निःशुल्क पढाउन थालेको छ । गएका वर्षदेखि बुहारी शिक्षा कार्यक्रम नै सञ्चालन गरेर सो गाउँपालिकाले बाहिरबाट विवाह गरेर आएका बुहारीलाई निःशुल्क उच्च शिक्षा दिन थालेको हो ।

शिक्षाको पहुँचमा पुग्न कमजोर आर्थिक अवस्था भएका घरका बुहारीलाई गाउँपालिकाले नै खर्च बेहोरेर पढाउन थालेको पालीका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए । विवाह गरेर श्रीमानको घर आएका महिलालाई आर्थिक अवस्थाका कारण थप शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको भन्दै अध्यक्ष केरुङले विद्यालयलाई निःशुल्क बस वितरण, विद्यालयमा पढ्दै कमाउँदै जस्ता शिक्षाको विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

गाउँपालिकाको सहयोगबाट एसएलसी पास गरेको अठार वर्ष पछि पढ्न पाउँदा खुसी लागेको वडा नम्बर २ बाह्रगोठेमा रहेको जनता माध्यमिक विद्यालयमा अध्ययन गरिरहेकी कमला भट्टराई ढुङ्गानाले बताइन ।

पढ्ने रहर हुँदा हुँदै विवाह भएर आउनु परेको र आर्थिक अवस्थाका कारण पढ्ने रहर पुरा नभइरहेका बेला गाउँपालिकाको बुहारी शिक्षा कार्यक्रमबाट आफ्नो रहर पुरा भएको उनले सुनाइन ।

पढ्ने रहर पुरा नभएका बुहारीहरूको पढाइको जिम्मा अब गाउँपालिकाले लिने गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले जानकारी दिए ।