धरान : चाडबाड नजिकिदैं गर्दा मादक पदार्थको उपभोग बढ्नु नेपाली समाजमा स्वाभाविक मानिन्छ । यसपालि भने दशैं नजिक लागुऔषधको समेत प्रचलन बढेको प्रहरीले एकै दिन आधा दर्जन युवाहरूलाई ब्राउन सुगर सहित पक्राउ गरेको घट्नाले पुष्टि गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मङ्गलवार एकै दिन सुनसरी र झापाबाट ६ जना युवालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

झापाका पक्राउ पर्नेहरूमा दमक-५ का ३० वर्षीय कृष्ण बहादुर श्रेष्ठ, दमक-९ का २० वर्षीय ईरास लिम्बु र मोरङ रतुवामाई-४ का २२ वर्षीय मित्रलाल राजवंशी छन् । उनीहरूलाई १ ग्राम ब्राउन सुगर र नाईट्राभेट १५ ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

उनीहरू दमक-१ स्थित एक होटेलमा कोठा भाडामा लिएर बसेको पाइएकोले उनीहरू होटेलको कोठलाई अड्डा बनाएर लागुऔषधको कारोबार गर्ने समूह भएको आशङ्का गरिएको छ ।

सोही दिन सुनसरीको इनरुवा-४ बसपार्कबाट कोशी गाउँपालिका-२ का १९ वर्षीय मुकेश यादव, २१ वर्षीय चन्दन कुमार यादव र सञ्जय कुमार यादवलाई १०० एमएलको डाइलेक्स १६ बोतल सहित पक्राउ गरेको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई सम्बन्धी प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।