विराटनगर : अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका मेयरसँग भेटवार्ता भएको मेयर कोइरालाका अन्तर्राष्ट्रिय सल्लाहकार सोमनाथ घिमिरेले बताएका छन् ।

विश्वको समृद्धशाली सहर मानिएको न्यूयोर्कका मेयर एरिक एडम्ससँग मेयर कोइरालाको भेटवार्ता भएको हो । भेटमा मेयर कोइरालाले एडम्सलाई नेपालको राष्ट्रिय पोसाक दौरा-सुरुवाल कोसेली स्वरूप उपहार प्रदान गरे । उनले मेयर एडम्सलाई विराटनगर भ्रमणको निम्तो समेत दिएका छन् ।

न्ययोर्कका मेयर एडम्सलाई कोइरालाले नेपाल भाषा, कला, संस्कृतिमा विश्वकै धनी मुलुक भएको बताउँदै अमेरिकी नागरिक साहसिक खेलमा रमाउने भएकाले नेपाल साहसिक पर्यटनका लागि उपयुक्त स्थान भएको बताए ।

उनले भने ‘नेपालमा विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार फिटभन्दा अग्ला धेरै हिमालहरू छन् ।’ मेयर कोइरालाले नेपाल साहसिक पर्यटनका लागि उपयुक्त देश भएको जानकारी दिँदै अमेरिकी नागरिकलाई नेपाल भ्रमणका लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् ।

कोशी प्रदेशमा साहसिक पर्यटनको धेरै नै सम्भावना रहेको बताउँदै मेयर कोइरालाले  प्रदेशको एकमात्र महानगरपालिका विराटनगरबाट सगरमाथा सहितका हिमाल नजिक पर्ने जानकारी दिए । उनले विराटनगरबाट माउन्टेन फ्लाइटको पहल भइरहेको बताए ।

मेयर कोइराला र एडम्सको भेटमा विराटनगर र न्यूयोर्क बिच भगिनी सम्बन्धका विषयमा समेत छलफल भएको छ । एडम्सले यसअघि कार्य व्यस्तताका कारण रथयात्रामा विराटनगर आउने योजना पूरा नभएको मेयर कोइरालालाई बताए ।

मेयर एडम्सले छिट्टै नेपाल आउन चाहेको इच्छा व्यक्त गरेका छन् । यसअघि नेपाल आएको उल्लेख गर्दै एडम्सले नेपाल आफूलाई मन पर्ने देशमध्ये भएको बताए ।

विराटनगर आएको समयमा दुई सहर बिच भगिनी सम्बन्धको औपचारिकता पुरा गर्ने एडम्सले प्रतिबद्धता व्यक्त गरेको मेयर कोइरालाका सल्लाहकार घिमिरेले जानकारी दिए ।

यसैबिच, मेयर कोइराला र न्यूयोर्क सिटी काउन्सिल माननीय शेखर कृष्णनबीच पनि भेटवार्ता भएको छ । उक्त अवसरमा शेखर कृष्णनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारको योगदान उच्च रहेको स्मरण गरे ।

सोही परिवारबाट मेयर कोइराला राजनीतिमा आएको बताउँदै कृष्णनले भने “जसरी तपाईँको परिवारले नेपालमा प्रजातन्त्र स्थापना गर्न महत्त्वपूर्ण योगदान गर्नुभयो, त्यसै गरी अब तपाईँले आर्थिक विकास र जलवायु परिवर्तनका मुद्दामा योगदान गर्नुहोस् ।’

जलवायु परिवर्तन विश्वकै लागि चुनौतीका रूपमा देखा परेको बताउँदै कृष्णनले प्रजातन्त्र बलियो हुनका लागि सुशासन, पारदर्शिता र जनताप्रति जबाफदेहिता हुनुपर्नेमा जो दिए ।

यसअघि मेयर कोइरालाले र सिनेटर माइकल जियानारिस, न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्यु योर्क राज्यका सेनेटर जोन सी लिउ, न्यूयोर्क विधान सभाका प्रथम फिलिपिनो अमेरिकी स्टिभन रागासित भेटवार्ता गरे ।

मेयर कोइराला संयुक्त राज्य अमेरिका स्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसनको सेमिनारमा सहभागी हुन असोज १० गते अमेरिका गएका हुन ।

४० देशका स्थानीय सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी समिनारमा मेयर कोइरालाले सहभागी भई टेक्ससको सेमिनारमा पनि उपस्थित भए । मेयर कोइराला हाल न्यूयोर्कमा भेटघाट र छलफलमा छन् । अन्तर्राष्ट्रिय सल्लाहकार घिमिरे मेयर साथै छन् ।

mayor koirala in america 2

mayor koirala in america 3