इटहरी : असोज २२ गते पाँचथर बाट सञ्चालित जोरपाटी अनलाइनमा प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सहयोगीलाई हातपात गरेको समाचार प्रकाशित भयो । ‘याङबरकका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनको कुटाइबाट कार्यालय सहयोगी सुवेदी घाइते’ शीर्षकको समाचारले गाउँपालिकामा हलचल मच्चियो ।

पत्रकार भीम कुमार बाँस्कोटाले सञ्चालन गरेको अनलाइनले समाचार ब्रेक गर्‍यो । सोही समाचारको फलोअप गर्दै बास्कोटाले सोही दिन घटना सामसुम पार्ने काम भएको भन्दै अर्को समाचार लेखे । मोबाइलमा म्यासेज आएको विषयबाट घटना सुरु भएको समाचारमा उल्लेख गरिएको छ ।

स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीसँग प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनको अनैतिक सम्बन्धलाई लिएर लिङ्देनको मोबाइलमा म्यासेज गएको समाचारमा उल्लेख छ । सो म्यासेज कार्यालय सहयोगी छत्र सुवेदीले पठाएको आशङ्कामा लिङ्देनले कुटपिट गरेको बताइएको छ । कसले म्यासेज पठाएको र के म्यासेज पठाएको भन्ने विषयमा लिङ्देनले खुलाएका छैनन् । तर लिङ्देनको कुटाइबाट घाइते भएका सुवेदीको घाउमा तिन टाँका लगाइएको छ ।

उता याङबरक गाउँपालिका अध्यक्ष भीम बहादुर योङ्या र उपाध्यक्ष बाबा मेन्याङ्बोले संयुक्त विज्ञप्ति निकालेर गलत बुझाइको कारण सामान्य घटना भएको बताए । सामान्य घटनालाई सञ्चार माध्यममा अमर्यादित तरिकाले प्रस्तुत भएको उनीहरूको तर्क छ । घटना सामसुम पार्न खोजिएको भन्ने बाँस्कोटाको समाचारलाई आधार पुग्ने गरी अध्यक्ष उपाध्यक्षले विज्ञप्ति निकालेका छन् ।

सोही विषयमा बुझ्न बाँस्कोटा असोज २३ गते गाउँपालिका कार्यालय पुगेका हुन् । गाउँपालिका अध्यक्ष अन्यत्रै कार्यक्रममा भएकाले उनले केही समय पर्खिए । बाँस्कोटाका अनुसार दुई बजे आसपास पालीका पुग्दा कार्यालय सहयोगी मात्र थिए । कार्यालयमा कोही नभएको जानकारी पाएपछि उनले अध्यक्ष योङ्यालाई फोन सम्पर्क गरे । त्यही बेला अर्का कर्मचारी आएर अधिकृत लिङ्देनलाई सम्पर्क गरे । अध्यक्ष केही समयमा कार्यालयमा आएको बताएका बाँस्कोटाले नमस्कार गर्दा पनि अर्कातर्फ फर्किएर बेवास्ता गरेको उनले बताए ।

कार्यकक्षमा छिरेपछि अघिल्लो दिन भएको घटना बारे आफूले प्रश्न गरेको बाँस्कोटाको भनाई छ । यस विषयमा क्यामेरामा बोल्नुपर्छ भन्दा अध्यक्षले ‘म बोल्दिन हाकिम सँग सोध्नुस्’ भन्ने जवाफ दिएको उनले सुनाए । आफूले अध्यक्षको हिसाबमा बोल्नुपर्छ भन्दा उनले क्यामेरा निकाल्न नदिएर टेबल ठोक्दै गाली गलौजमा उत्रिएको गुनासो गरे । उनले भने, ‘प्रश्नको सामना गर्नुपर्छ भन्दा कड्किएका योङ्या टेबल ठोक्दै बाहिर निस्किए । एक घण्टा पछि कार्यकक्ष भित्र आएर बल्ल बोल्न तयार भएपछि मैले अन्तरवार्ता लिएको हुँ ।’

अध्यक्ष योङ्याले कार्यालय सहयोगी र प्रमुख प्रशासकीय अधिकृत बिच झगडा जिल्ला समन्वय समितिमा बैठक बसेर मिलाइएको प्रष्ट पारे । गाउँपालिकाको कार्यक्रममा हुँदा कार्यालय आउन ढिला भएको बताउँदै उनले पत्रकार प्रति कुनै दुर्व्यवहार नभएको बताए । ‘कार्यकक्षमा छिर्ने बित्तिकै वहाँ (भीम कुमार बाँस्कोटा) ले कुर्सी अगाडी लिएर आउनुभयो । ‘म पत्रकार हुँ’ भन्नुभयो । बस्न नपाई वहाँले क्यामेरा निकालिहाल्नु भयो । ‘ऐले नै क्यामेरा ननिकाल्नुस् भन्दा वहाँले प्रश्न सँग नभाग्नुस् भन्दै प्रश्न गर्न थाल्नुभयो,’ उनले भने, ‘मैले एक छिन पर्खिनुस् भनेर भनेँ । त्यसपछि म एक छिन बाहिर गएर आएँ । पछि वहाँ सँग कुरा गरेपछि सौहार्दपूर्ण हिसाबमा हात मिलाएर छुटेका हौँ ।’

अनलाइन तथा विज्ञप्तिमा फरक ढङ्गबाट समाचार आएको उनको आपत्ति छ । केही समय तयार गरेर मात्र क्यामेरामा बोल्छु भन्दा अपमान गर्‍यो भन्ने शैलीबाट प्रस्तुत गर्न खोजिएको उनको भनाइ छ ।

पत्रकार बाँस्कोटाले आफूलाई अपमानित ढङ्गले व्यवहार गरेको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध गाउँपालिका अध्यक्ष लागेको उल्लेख गर्दै फेसबुक पोष्ट गरेका छन् । सोही विषयमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले विज्ञप्ति प्रकाशित गरेको छ । प्रेस युनियन केन्द्रीय समितिले बाँस्कोटा माथि अध्यक्ष योङ्याले कार्यकक्षमा दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । बुधवार महासचिव दिलीप पौडेल द्वारा जारी विज्ञप्तिमा गाउँपालिका अध्यक्षले क्यामेरामा दृश्य समेत कैद गर्न अवरोध गरेको उल्लेख छ । अध्यक्षको अशोभनीय व्यवहार प्रति खेद व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी गतिविधि नदोहोर्‍याउन चेतावनी दिएको छ । यस विषयमा प्रेस युनियन कोशी प्रदेश समिति र जिल्ला समिति पाँचथरले आपत्ति जनाएका छन् ।

उता गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा अधिकृत र अध्यक्षको बचाऊँ गर्दै बाहिर आएका विज्ञप्ति र टीकाटिप्पणी घटनाको दृष्टान्त सँग तोडमोड गरेर निकालिएको बताइएको छ । सञ्चारकर्मीले मर्यादाको ख्याल गर्नुपर्ने बताइएको विज्ञप्तिमा अध्यक्षले अभद्र व्यवहार गरेको कुरा गलत भएको जानकारी गराएको छ । प्रेस युनियनले दिएको सुझावलाई अनुसरण गर्दै गाउँपालिका पत्रकारिता क्षेत्रको सहयोगमा लाग्ने प्रतिबद्धता जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले निकालेको प्रेस विज्ञप्ति:

GAupalika Pr new Pathaivara