धरान : उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित औषधि पसल काल्स फार्मेसीबाट कानुनले नियन्त्रित गरेको तथा दुर्व्यसनीले लागुऔषधको रूपमा प्रयोग गर्ने औषधि बरामद गरी सञ्चालिकालाई पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार बिहीबार साँझ त्रियुगा-११ स्थित काल्स फार्मेसीमा नियन्त्रित औषधीहरू बिक्री वितरण भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले खानतलासी गरेको थियो ।

खानताशीमा उक्त फार्मेसीबाट नियन्त्रित औषधी स्पासपेन १ हजार ९६० र वेगावेलेन ८० ट्याब्लेट फेला परेकाले सञ्चालिका ३६ वर्षीय सरिता चौधरीलाई पक्राउ गरेको छ ।

यसैबिच भारतीय सिम क्षेत्रबाट लागुऔषध ल्याएको अवस्थामा विराटनगर-१६ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-४ का ३० वर्षीय अरुणकुमार मण्डल धानुक र विराटनगर-१२ का ४४ वर्षीय मनोज कामत छन् ।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेको को २९ प २२७२ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा निट्रोभेट ३ सय चक्की फेला पारेको थियो ।

प्रहरीले मोटरसाइकल र लागु औषधी सहित पक्राउ परेका उनीहरूका बारेमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।