धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।

बढुवा प्रक्रियाको मागलाई लिएर आन्दोलित एक सय पचास भन्दा बढी प्राध्यापक चिकित्सकहरूले राजीनामा बुझाएपछि पठन पाठन एवं उपचारका गतिविधि प्रभावित भएको हो ।

बिपी प्रतिष्ठान विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले भने ‘सङ्क्रमणकालीन अवस्थामा पनि शैक्षिक गतिविधि रोकिएको थिएन, यसपालि दुई साता अघि देखी पठनपाठन ठप्प भएको छ ।’

विद्यार्थीको पढाई अवरुद्ध भएपछि शुक्रवार बिहान समाजले विद्यार्थीहरूको जुलुस प्रदर्शन गर्दै सरकार तथा प्रतिष्ठानका पदाधिकारीहरूको ध्यानाकर्षण गराएको छ । उनीहरूले ‘विद्यार्थीको हक सुनिश्चित गरौँ, पढ्ने र पढाउने वातावरण बनाऔँ, लेखिएका ब्यानर, प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन ।

उपकुलपति कार्यालय परिसरमा भएको कोण सभामा समाजका अध्यक्ष डा.रजकले शिक्षकहरूले कामै छोडेर आन्दोलन गरेकोमा सामूहिक राजीनामा समेत दिएकाले विद्यार्थीहरूको भविष्य अन्योल भएको बताए । उनले प्राध्यापक डाक्टरहरूको मागलाई सम्बोधन गरी चाँडो निकास दिन माग गरे ।

सचिव जमुना वनले शिक्षकहरूको सामूहिक राजीनामाले शैक्षिक गतिविधि झन् अस्तव्यस्त बनेको बताइन् । उनले यसअघि आन्दोलनको कारण पढाई मात्र नभएर परीक्षा नै अवरुद्ध भएको बताइन् ।

विद्यार्थीहरूले शिक्षहरुको आन्दोलनका कारण शैक्षिक गतिविधि ठप्प भएको, विद्यार्थीको भविष्यमा खेलबाड गर्न खोजिएको भन्दै प्रतिष्ठानका पदाधिकारीहरू सहित डिन कार्यालयमा यसअघि ज्ञापन पत्र बुझाएका थिए ।

चिकित्सकहरूको सामूहिक राजीनामाका कारण प्रतिष्ठानको उपचार सेवामा समेत प्रभावित भएको छ । राजीनामा दिएका चिकित्सकहरूमा प्रतिष्ठानका सिनियर रेजिडेन्ट, असिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरू छन् ।

विभिन्न विभागसँग सम्बन्धित उनीहरू ड्युटीमा उपस्थित नभएपछि प्रतिष्ठान अस्पतालका बिरामीहरूको उपचार प्रभावित भएको हो ।