इटहरी : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेपाली काँग्रेस प्रति असन्तुष्टि जनाएका छन् । माओवादीले यसअघि काँग्रेसको आग्रहमा सभामुख र एमाले सहितको सरकार छाडेको बताउँदै उनले धोका भएको बताए ।

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री चयन भएका छन् ।

आङ्बो र कार्कीले मुख्यमन्त्री दाबी गरेपछि दुवै दाबेदारलाई बहुमत पुष्टि गर्न प्रदेश प्रमुखले प्रत्यक्ष सनाखत गराएका हुन् । कार्कीले बहुमत सांसदको समर्थन पाएपछि उनी मुख्यमन्त्री नियुक्ति भइसकेका छन् ।

काँग्रेसले गठबन्धनको निर्णय नमानेको भन्दै उनले आपत्ति जनाएका छन् । माओवादीले गठबन्धनको नाममा त्याग गरेको बताएका आङ्बो काँग्रेस नेतृत्व प्रति असन्तुष्ट छन् । 

शनिवार फेसबुक मार्फत उनले लेखेका छन्  :

- गठबन्धन खास गरी काङ्ग्रेस कै आग्रहमा हामी एमाले नेतृत्वको प्रदेश सरकारबाट फिर्ता भयौँ।

- गठबन्धनको कठिन अङ्क गणितको बावजुत बहुमत पुर्‍याउने र विश्वासको मत पनि पाउने विश्वासिलो आधार हाम्रो दल सङ्ग हुँदा पनि  गठबन्धनको संबेदनसिलतालाइ ख्यालमा राखेर मुख्यमन्त्रीमा काङ्ग्रेसको दाबिलाइ हामीले स्वीकार गर्‍यौ।

- पहिलो पटक सरकार गठनमा काङ्ग्रेसका उम्मेदवारलाई सभामुखको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी गर्न पनि हामी तयार भयौँ।

- मुख्यमन्त्रीको नियुक्ति सर्वोच्चले बदर गरेपछि काङ्ग्रेस कै नेतालाई मुख्यमन्त्री बनाउन माओवादी सँग भएको सभामुख समेत राजीनामा गराएर बहुमत सहित सरकार गठन गर्न तयार भयौँ।

- २/२ पटक काङ्ग्रेस नेतृत्वको सरकारले बहुमत सिद्ध गर्न नसकेपछि गठबन्धन भित्रैबाट सरकार बनाउने र विश्वासको मत प्राप्त गर्ने भरपर्दो आधार सहित प्रदेशलाई स्थायित्व दिन हामीले मुख्यमन्त्रीको दाबी गरेका हौँ।

- हामीले गठबन्धन र सत्ता सहकार्य काङ्ग्रेस सङ्ग गरेको हो गुट, उपगुट र पार्टी भित्रको असन्तुष्टि व्यवस्थापनको जिम्मा स्वयं काङ्ग्रेस कै हो । पार्टीको आधिकारिक निर्णय काङ्ग्रेसले किन लागू गर्न सकेन यसको समीक्षा गर्ला वा नगर्ला त्यो काङ्ग्रेसको कुरा हो।

- सत्ता गठबन्धन भित्रको सहमति र सहकार्यमा थप विभाजन र जटिलता नआवोस भन्ने चाहना र हाम्रो दाबी पनि नपुग्ने अवस्था भएकोले प्रदेश प्रमुखले बोलाउनु भएको सनाखतमा हामी सहभागी नहुने निष्कर्षमा पुग्यौँ।

- प्रदेश सरकार गठनमा सुविधाजनक बहुमत र विश्वासको मत प्राप्त गर्ने भरोसा सहित केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीको उम्मेदवार बनाउने गरेको निर्णयप्रति सधैँ आभारी रहने छु तपाईँहरूले गर्नुभएको विश्वास र भरोसा डगमगाउन दिने छैन। अन्त्यमा हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधैँ इमानदार र प्रतिबद्ध रहने छ । धन्यवाद !

 इन्द्र आङ्बो

दल नेता

 नेकपा (माओवादी केन्द्र)