धरान : धरान वडा १६ का २२ वर्षीय शेरबहादुर सुनुवार र धरान वडा १ का ३३ वर्षीय सुसन श्रेष्ठलाई धेरै परिमाणमा लागुऔषध सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार धरान-१६ मा डेरा गरी बसेका सुनुवारलाई स्पासपेन ३ हजार ८ सय ट्याब्लेट, ट्रमाडोल ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर १ बुलेट, नेपाली रुपैयाँ २१ हजार ५०० र भारु २ हजार ४ सय १० रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।

यसै गरी हिजै धरान-१ का सुसनलाई स्पासपेन ३ सय ट्याब्लेट र ट्रमाडेल ५ सय क्याप्सुल सहित पक्राउ गरेको हो ।

उनीहरू दुवैलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआइटी समूहका प्रहरी टोलीले पक्राउ गरेको बताइएको छ । लागुऔषध सहित पक्राउ परेका दुवैको बारेमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सोही प्रहरी टोलीले विराटनगर-१४ र १५ वडाबाट भन्सार छलेर ल्याइएको रेडिमेट कपडा कुर्था   सुरुवाल, कस्मेटिक, लेडिज ईनर समेत करिब ८० हजार ३७० रुपैयाँ मूल्य बराबरको सामान बरामद गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।