धरान : सुनसरी बास्केटबल सङ्घद्वारा दसैँ, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमका बिच आज शनिवार बिहान भएको मैत्रीपूर्ण बास्केटबल प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घसँग पत्रकार महासङ्घ पराजित भएको छ ।

मैत्रीपूर्ण खेलमा सुनसरी बास्केटबल सङ्घ ५२-४१ अङ्कले विजेता भए । बास्केटबल सङ्घ र पत्रकार सङ्घले प्रत्येक क्वाटरमा २-८, २३-१०, ७-१३ र २०-१० अङ्क जोडे । खेलमा बास्केटबलबाट विवेक राईले व्यक्तिगत १६ अङ्क जोडे ।

बास्केटबल टिम सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र पत्रकार टिम महासङ्घ सुनसरी अध्यक्ष जनक ऋषि राईको कप्तानीमा प्रतिस्पर्धा भएको हो । 

प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष लामा, महासङ्घ अध्यक्ष राईले दसैँ हर्षोल्लास पूर्ण रहोस् भनी शुभकामना प्रकट गरे । सभापतित्व सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले गरेका थिए ।