वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चतराबाट भोजपुरको सिम्लेसम्म कोशी नदिमा सञ्चालन भई राखेको पानी बोटलाई व्यवस्थितसँगै यात्रुहरूको सुरक्षाको विषयमा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले चासो देखाएका छन् ।

कोशीमा सञ्चालन भई राखेका बोटको कानुनी प्रमाणसँगै यात्रुहरूको सुरक्षा, बोटको क्षमता, दुर्घटना बिमा, भाडा दर तथा पानी बोटको स्टेन व्यवस्थापनको विषयमा नगर प्रमुखले चासो देखाएका हुन् ।

आइतबार बिहान वडा नं १ का अध्यक्ष किसन मगर, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना, सशस्त्र प्रहरी बेस क्याम चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिगबहादुर गोले सहित पानी बोटको स्टेन चतराघाट पुगेका नगर प्रमुखले स्थलगत अवलोकन गर्दै यात्रुको सुरक्षालाई प्राथमिकता र पर्यटक मैत्री बनाउन बोट सञ्चालकहरूलाई आग्रह गरेका थिए ।

भोजपुर, उदयपुर र धनकुटावासीहरूका लागि छिटोछरितो यातायातको साधन बनेको आन्तरिक पर्यटकहरूको आकर्षण गरी राखेको पानी बोटलाई नगरपालिकाले थप व्यवस्थित बनाउने नगर प्रमुख कार्कीले बताए । पानी बोटको नियमित मर्मत, सुरक्षाका साधन, सुरक्षा, सुविधा र भाडा दरलाई व्यवस्थित बनाउन बोट सञ्चालकहरूलाई नगर प्रमुख कार्कीले आग्रह गरेका थिए । यात्रुहरूको सुरक्षा, सेवा, सुविधा र सेवालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका बोट सञ्चालकहरूले नगर प्रमुखलाई बोटलाई व्यवस्थित स्टेन थप सहयोग गरिदिन आग्रह गरेका थिए ।