धरान : गठबन्धन सरकारमा काँग्रेसका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले कोशी प्रदेशमा पुनः नामकरणको आन्दोलनलाई सम्बोधन गर्न नेपाली काँग्रेसले पहिचानको विषयमा पार्टीको नीति स्पष्ट रूपमा जनतामाझ लैजानु पर्ने कुरा बताएका छन् ।

नेपाली काँग्रेस धरान उपमहानगर समितिद्वारा आज बिहीबार आयोजित दशैं सहित चाडपर्वहरूको शुभकामना कार्यक्रममा उनले कोशी प्रदेशका नामकरण अघि देखी चल्दै आएका पहिचान सहितको नामकरणको आन्दोलनको उल्लेख गर्दै भने ‘पहिचानलाई सम्बोधन गर्न काँग्रेसले पार्टीको स्पष्ट नीति बनाउनु पर्छ।’

काँग्रेसले यसअघि पहिचानका बारेमा पार्टीको नीति बनाउन स्वर्गीय नेता भिमबहादुर तामाङको संयोजकत्वमा कार्यदल बनाएको मन्त्री लिम्बुले स्मरण गरे । उक्त कार्यदलले पार्टीलाई ‘पहिचान भेटिने द्वन्द्व मेटिने’ नीति मस्यौदा गरी प्रतिवेदन समेत बुझाएको थियो । मन्त्री लिम्बुले पहिचान भेटिने द्वन्द्व मेटिने’ काँग्रेसको स्पष्ट नीतिलाई जनतामाझ लैजान सहभागी कार्यकर्तालाई आग्रह गरे ।

पछिल्लो समय प्रदेशको राजनीतिलाई लिएर प्रदेश खारेजको नाममा गणतन्त्र विरोधीहरू सलबलाई रहेको उल्लेख गर्दै २००७ सालको क्रान्ति देखी २०६२/०६३ सम्ममा हजारौँ सहिदहरूको बलिदानबाट आएको गणतन्त्रलाई सजिलै उल्टाउने कुरा गर्नु शहिदहरुप्रतिको अपमान भएको उनले बताए ।

सञ्चार प्रविधिको विकासले सामाजिक सञ्जालको पहुँचलाई दुरुपयोग गर्दै व्यवस्था उल्टाउने सम्मको प्रचार हुन थालेको उनले बताए । उनले भने ‘व्यक्तिको चरित्रहत्या देखी सामाजिक, धार्मिक वैमनष्यता फैलाउने, सामाजिक सञ्जाललाई अपराधको माध्यम बनाउन थालिएको छ ।’

नेपाली समाजमा लुकेर बसेका आपराधिक स्वभावका व्यक्तिहरूले फेसबुक लगायतमा फेक आइडी बनाएर यस्तो कार्य गरिरहेको बताउँदै उनले भने ‘बेलैमा यस्ता गलत कार्यलाई नियन्त्रण गर्न आवश्यक ऐन बनाउनु पर्ने प्रस्ताव मन्त्री परिषदमा निर्णयका लागि लैजाँदै छौँ ।’

कोशी प्रदेशका निवर्तमान प्रदेश सभामुख प्रदीप भण्डारीलेले सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने प्रयास कतैबाट हुन नहुने बताउँदै बहुजाति, बहुसंस्कृति, बहुधार्मिक नेपाली समाज सद्भावपूर्ण रहँदै आएकामा केही समय यता यसमा खलल ल्याउने प्रयास हुन थाल्नु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले धरानको विकासका लागि महत्त्वपूर्ण निर्णयहरू आफ्नो कार्यकालमा भएको उल्लेख गर्दै भने ‘प्रदेश बन कार्यालय र पर्यटन कार्यालय धरानमा रहने निर्णय भैसकको हो, तर अहिले ती कार्यालय अन्यत्र लैजाने षडयन्त्र भइरहेको सन्दैछु ।’ धरानमा आइसकेका प्रदेश कार्यालय अन्यत्र जानु दुर्भाग्यपूर्ण हुने कुराप्रति उनले चिन्ता प्रकट गरे ।

धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाले आफू धरानको नेतृत्व सही र सबल हुनुपर्ने पक्षमा रहेको बताउँदै भने ‘तर, धरानको विकासका लागि जुन समन्वय र सहकार्यको आवश्यकता छ त्यो हुन सकेको छैन । उपमेयर के हेरेर बसेको छ ? भनी प्रश्न पनि उठ्न सक्ने बताउँदै आफूले गर्न सक्ने समन्वयका प्रयास सक्दो गरिनै रहेको बताए ।

काँग्रेस नगर सभापति श्याम पोखरेलले विकास, निर्माण टाढैको कुरा सामाजिक सद्भाव समेते बिथोलिन अवस्थामा धरान उँधो गतिमा गइरहेको बताए । उनले भने ‘धरानका राजनैतिक दलहरू एकजुट भएर, यहाँका बुद्धिजीवी, सामाजिक अभियन्ताहरूको प्रयासबाट सामाजिक, धार्मिक सद्भाव बिथोलिने ठुलो दुर्भाग्यबाट बचेको छ ।’ त्यसैले अहिले सबै दलहरू, सामाजिक क्षेत्रहरू एकजुट भएर धरानका सबै सवालमा जिम्मेवार भएर अघि बढ्नु पर्ने आवश्यकता रहकोमा उनले जोड दिए ।

कार्यक्रममा काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व सांसद मिना सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ल, तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, काँग्रेस प्रदेश क सभापति श्रेष्ठ, प्रदेश ख सभापति मुरारी भट्टराई लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए।