धरान : गैरआवासीय नेपाली सङ्घ एनआरएनएको चुनावमा बद्री केसी समूहले अनलाइन भोटिङमा धाँधली गरेको दाबी गरिएको छ । महासचिवका एक उम्मेदवार डा. केशव पौडेलले अनलाइन भोटिङमा धाँधली गरेर अध्यक्षमा केसी विजयी भएको दाबी गरेका हुन ।

चुनावमा बद्री केसीले १३७८, आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको मत परिणाम नै फेक भएको भन्दै धाँधली गरेको आरोप लगाइएको हो ।

सिस्टममै धाँधली भएको प्रमाण पाइएको दाबी गर्दै महासचिवका प्रत्याशी डा. पौडेलले भने ‘काठमाडौँबाट ८०० भन्दा धेरैले मत खस्दा आफूलाई एक मत पनि नखस्नु भनेको धाँधली नै भएको प्रमाण हो ।’ सबेभन्दा बढी मत आउने अनुमान गरिएको उनको पक्षमा काठमाडौँबाट झरेको मत शून्य देखाइएको छ ।

त्यसैगरी अध्यक्षका प्रत्याशी आरके शर्माले केसीले सिस्टम ह्याक गरी आफ्नो पक्षमा नतिजा ल्याएको दाबी गरेका छन् । उनले धाँधलीको छानबिनका लागि परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए ।

अर्का अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले निर्वाचन रद्द गर्न माग गर्दै गम्भीर छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

उपाध्यक्षमा विजयी खगेन्द्र न्यौपानेले समेत चुनावमा धाँधली भएको बताए । निष्पक्ष देखाउन आफूलाई जिताइएको उनको भनाई छ । चुनाव परिणामलाई स्वीकार नगर्ने बताउँदै उनले निष्पक्ष छानबिनको माग गरे ।

धाँधलीको आरोपले एनआरएनए बद्री समूहको विश्वसनीयता समाप्त भएको दाबी गरिएको छ । यसबाट एनआरएनए दुई समूहमा विभाजन हुनसक्ने आशङ्का बढेको छ । पराजित बनाइएका आरके र महेश पक्षबिच अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको बताइएकाले यस्तो सम्भावना बढेको हो ।

छलफलमा धाँधलीको निष्पक्ष छानबिन नगरिए अर्को कार्यसमिति गठन गर्ने सम्मको प्रस्ताव आएका छलफलमा उपस्थित एक सहभागीले बताए ।

यसअघि केसीले सिस्टम ह्याक गरेरै भएपनि आफूलाई विजयी घोषणा गर्ने विनोद कुँवर पक्षले आरोप लगाएको थियो । केसी पक्षका दिपेश खत्रिले अनलाइन भोटिङ सिस्टम केसीकै पहुँचमा रहेको उनले आफ्नो अनुकूलताको परिणाम सार्वजनिक गर्ने दाबी गर्दै आएका थिए ।

चुनाव जित्नेको लागि धाँधलीको आरोप अहिले मात्रै होइन केसी उपाध्यक्ष र महासचिव हुँदादेखि नै उनलाई सूचना प्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो ।