धरान : पूर्वका प्रसिद्ध शक्ति पीठ विजयपुर स्थित दन्तकाली मन्दिरमा नेपाली सेनाको हर्ष बढाइँ सहित शनिवार फूलपाती भित्र्याइएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, र इलाका प्रहरी कार्यालयको टोलीले धरानको बुढासुब्बा र पिण्डेश्वर मन्दिर परिसरबाट ल्याइएको फूलपाती भित्र्याएको हो ।

फूलपाती विधिपूर्वक पूजा आराधना पश्चात् नेपाली सेनाले सलामी सहित सम्मान अर्पण गरेर दसैं घरमा भित्र्याइएको छ ।यसअघि दन्तकाली मन्दिर व्यवस्थापन समितिले फूलपाती भित्र्याउने गरेको थियो ।

गत ३ वर्ष देखी धरान वडा १४ कार्यालयको व्यवस्थापनमा फूलपाती भित्र्याइने गरिएको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

दन्तकाली मन्दिरमा नवरात्री लागेदेखि भक्तजनहरूको भिड हुने गरेको छ । सप्तमी अष्टमी नवमीमा अझ घुइँचो लाग्ने गरेको भट्टराईले बताए । फूलपाती भित्र्याउने र्‍यालीमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघा सहभागी थिए ।